२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

दुर्गाले भने- मलाई मार्न गोली चल्यो, छतबाट हाम्फालेर गाडी आफैँ कुदाएँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा आफूलाई ‘इन्काउन्टर’ मा मार्ने योजना रहेको खुलासा गरेका छन्।

दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै प्रसाईंले आफूलाई मार्ने योजना छ भन्ने पूर्व जानकारी हुँदाहुँदै पनि समर्थकहरूको लागि कार्यक्रममा गएको दाबी गरे।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मलाई मार्ने योजना छ भन्ने मलाई त्यही दिन राति थाहा थियो। तर पनि म तपाईंहरूलाई भन्छु, म नभनीकन गएँ, मैले भनेँ भने भोलि कोही आउँदैन। मलाई थाहा थियो’

प्रसाईंका अनुसार, उनी दशौँ हजार समर्थकहरूसँग गाडीको छतमा बसेर सम्बोधन गर्दै कार्यक्रमस्थल पुग्दै थिए। तर, उनी पुग्नुभन्दा ४५ मिनेट अघिदेखि नै त्यहाँ गोली चलिरहेको थियो।

‘जब म तीनकुनेको ट्राफिक आइल्याण्डमा पुगेँ, मेरो आँखा पोल्यो। मञ्चमा धुवाँ उडिरहेको थियो, मान्छेहरू लडिरहेका थिए,’ उनले घटनाको विवरण सुनाउँदै भने, ‘त्यो मञ्चको पछाडिको घरबाट मलाई गोली प्रहार भएको थियो। म छतबाट हाम्फालेर, ड्राइभरलाई निकालेर गाडी आफैँ चलाएँ।’

करिब १० वर्षदेखि गाडी नचलाएको भए पनि त्यो दिन आफूले गाडी कुदाएर ज्यान जोगाएको र सिधै प्रहरीको गणभित्र छिरेको उनले बताए। ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ,’ प्रसाईंले दाबी गरे, ‘त्यसपछि म कर्फ्यू लाग्नुअघि नै काठमाडौँ छोडिसकेको थिएँ।’

प्रसाईंले आफूलाई सिध्याउने योजना राजनीतिक षड्यन्त्रको हिस्सा भएको आरोप लगाए।

‘मदन भण्डारी बाँचेको भए अरूको चान्स आउँदैनथ्यो, त्यसैले मारियो। राजा वीरेन्द्रलाई नमारेको भए यो देशमा धर्म निरपेक्ष बनाउन पाइँदैनथ्यो,’ उनले भने, ‘मूर्ति नै फ्याँकियो।’ 

उनले जर्ज अरवेलको प्रसिद्ध कृति ‘एनिमल फार्म’ (सुँगुरको कथा) को उदाहरण दिँदै कम्युनिस्ट शासकहरूले नागरिकलाई दास बनाउने गरेको आरोप लगाए। ‘त्यो सुँगुरको कथाले राम्रो व्याख्या गर्छ कि कम्युनिस्टहरूले कसरी शासन सत्ता आफ्नो हातमा लिएर नागरिकलाई दास बनाउँछन्,’ उनले भने।

पत्रकार सम्मेलनमा उनले आफ्नो अभियान कसैको ऋण मिनाहा गर्न नभई देशको बेथितिविरुद्ध भएको दोहोऱ्याए।

प्रकाशित: २ भाद्र २०८२ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App