२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘आमा म त खरानीबाट उठेर आएँ’

सङ्गीत

‘पुलिसले कविता पढ्यो र भन्यो -राम्रो छ।’

धेरैअघि विमल निभाले लेखेको यस कवितामा पञ्चायतकालका प्रहरीमाथि तिखो व्यंग्य छ। त्यतिबेलाका प्रहरीको कठोर रवैया र साहित्यप्रतिको नादानीलाई लिएर निभाले काव्यात्मक व्यंग्य हानेका थिए।

विमल निभा स्वयं भन्छन् - ‘मैले यो कविता पञ्चायतकालका प्रहरीको रवैयालाई व्यंग्य गरेर लेखेको थिएँ। त्यतिबेला प्रहरी देशको होइन, सत्ताको मात्र हुन्थ्यो। उनीहरूको व्यवहार र व्यक्तिगत चेतनासमेत निकै असभ्य थियो। ती कोही पनि सिर्जनशील व्यक्ति र सिर्जनालाई महत्त्व दिँदैनथे । म स्वयं त्यो व्यवहारको सिकार हुनुपरेपछि उक्त कविता लेखेको हुँ।’

समयसँगै परिस्थिति परिवर्तन भयो। प्रहरी सेवामा लागेकाहरूले विगतको द्वन्द्वलाई लिएर कथा लेखेका छन्। उत्कृष्ट कथाले पुरस्कार पाएका छन्। मदन पुरस्कार विजेता बनेका छन्। कविताहरू लेखिएका छन्। गीतसंगीतमा प्रहरी सेवाका कोमल भाव पोखिएका छन्। प्रहरी संगठनले शान्ति सुरक्षाका अतिरिक्त नेपाली साहित्य र संगीतमा पनि योगदान दिएको छ । अहिले प्रहरीमा पनि मानव हृदय बुझ्न सक्ने, सिर्जनशील प्रतिभा भएका अधिकारीहरू बढिरहेका छन्। उनीहरूले कथा, कविता र गीत लेख्न थालेका छन्।

यसै क्रममा हालसालै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले एक मार्मिक गीत लेखेका छन्– ‘आमा म त खरानीबाट उठेर आएँ।’

जसमा प्रहरीको मानवता, समर्पण र देशप्रतिको जिम्मेवारीलाई जीवन्त बनाएको छ । त्यतिमात्र होइन, जस्तोसुकै परिस्थितिको पनि सामना गरेर प्रहरी शान्ति सुरक्षाका लागि खटिन तयार छ भन्ने अर्को सन्देश प्रवाह भएको छ।

गीतको पृष्ठभूमि पछिल्लो जेनजी आन्दोलन हो। त्यसबेला नेपाल प्रहरीले कठिन परिस्थितिको सामना गरेको थियो। आन्दोलनका क्रममा प्रहरीका केही साथीहरूले आफ्ना साथी प्रहरी, परिवार र प्रियजनलाई गुमाउनुपरेको थियो तर त्यही विपत्तिपूर्ण समयमा पनि उनीहरूले आफ्नो कर्तव्य, अनुशासन र देशप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएका थिए।

जेनजी आन्दोलन हुँदा गीतकार कार्की एआइजी थिए। इन्स्पेक्टरदेखि एआइजी हुँदासम्म मुलुकमा आइपरेका सबैजसो सहजता र असहजताको सामना गरे। अझ सुरक्षा अंगले भोग्नुपर्ने अवस्थालाई नजिकबाट नियाले। उनले उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हालेकै दिन जेनजी आन्दोलनको नाममा प्रहरी कार्यालयहरू जलाइए, प्रहरीका हतियारदेखि लगाउने लुगा, बस्ने बाँस र खानेकुरासमेत जलाइए।

सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत जलिरहँदा प्रहरीमा भवनहरू खरानी भए, तीन प्रहरीको हत्या भयो, प्रहरीमाथि इतिहासमा नभएको दुव्र्यवहार भयो। एक प्रकारले भन्ने हो भने प्रहरीको आत्मबल पूरै कमजोर अवस्थामा पुग्यो।

आन्दोलन सकिएको एक सातामै संविधान दिवस मनाउनुपर्ने, प्रहरीले लगायत सुरक्षा अंगले परेड खेल्नुपर्ने तथा सुरक्षा अंग ठिकठाक रहेको देखिनुपर्ने भयो। त्यही सन्दर्भमा ‘आमा म त खरानीबाट उठेर आएँ,’ गीतको शब्द रचना भएको स्वयं गीतकारको भनाइ छ।

सुरक्षा निकायमा भएका कारण कडा मिजास हुनु नौलो भएन तर प्रहरी दुनियाभन्दा शान्त स्वभावका गीतकार कार्कीले आफूलाई गीतकारको परिचयमा ढालिसकेका छन्। प्रहरीभित्र कडा स्वभाव हुनुमा उनको पेसाको प्रकृति पनि कारण हुन सक्छ। हुन पनि फौजी जीवन कहाँ सजिलो हुनु? प्रहरी अनुशासनभित्र आफूलाई बाँध्नुपर्ने। जागिर नै त्यस्तै। दिनरात अपराध, अनुसन्धानमै खटिनुपर्ने, शान्ति सुरक्षाका लागि जहिले तमतयार हुनुपर्ने, तर प्रहरी जीवनको यस्तै व्यस्तताबिच पनि उनले केही अब्बल सिर्जना लिएर जनजनको मनमा प्रवेश गरेका छन्।

महानिरीक्षक कार्कीले त्यो दुःखद र चुनौतीपूर्ण समयलाई गीतमा समेटेर प्रहरीको मनोबल, अनुशासन र पुनरुत्थानको कथा सुनाएका छन्। गीतले देखाउँछ कि धेरै गुमाएर पनि प्रहरी उठेर फेरि आफ्ना कर्तव्यमा खटेका छन्। अझै देशको विकास र सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छन्।

गीतका केही अंश यसप्रकार छन् -

‘आमा म त फर्किएर आएँ,

खरानीबाट उठेर आएँ

कसरी देख्न सक्छु तिम्रो मुटु बलेको

भाइभाइबिच तरबार चलेको,

इतिहास जलेको, विश्वास ढलेको।

सत्यसेवा, सुरक्षाको सपथ खाएको

शान्तिका लागि यी हात मिलाएको।’

गीतले प्रहरीको निःस्वार्थ सेवा, अनुशासन र देशप्रतिको जिम्मेवारीलाई उजागर गर्छ । यहाँ केवल नियम पालन मात्र होइन, समानुभूति, संवेदना र समाजको कल्याणका लागि समर्पण देखाइएको छ।

पञ्चायतकालमा प्रहरी अधिकतर सत्ताको संरक्षणमा मात्रै केन्द्रित थिए। व्यक्तिगत चेतना, मानवता वा सिर्जनशीलतालाई महत्त्व दिइँदैनथ्यो तर आज प्रहरीले सिर्जनशीलता र मानव संवेदनालाई सम्मान गर्न थालेका छन्।

महानिरीक्षक कार्कीको गीतले यो कुरा स्पष्ट देखाउँछ– पुलिस केवल नियम र कानुनका संरक्षक मात्र होइनन्, उनीहरू संवेदना र समाजको कल्याणका लागि समर्पित छन्। सिर्जनात्मकताको यो प्रस्तुति गीतको माध्यमबाट मात्र होइन, भिडियो, संगीत र प्रस्तुतिमार्फत पनि जीवन्त बनाइएको छ।

थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा सजिएको महानिरीक्षकको यो गीतमा सुरक्षा पन्त, सूर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदीप पट्टेल लगायतले उत्कृष्ट अभिनय गरेका छन्।

मानव सुवेदीको निर्देशन, सौरभ लामिछानेको छायांकन र सरोज ओलीको भिडियो कन्सेप्ट निकै उत्कृष्ट छ। संगीत र भिडियोले गीतको भावनात्मक गहिराइलाई अझ प्रभावकारी बनाएको छ।

यो गीतले प्रहरी र नागरिकबिचको सम्बन्धलाई नजिक ल्याउने प्रयास गरेको छ। पहिले जहाँ कविता विमल निभाले पञ्चायतकालका प्रहरीलाई व्यंग्यात्मक रूपमा चित्रण गरेका थिए, आज त्यही प्रहरी संस्था सिर्जनात्मक माध्यममार्फत आफ्ना भाव व्यक्त गर्दैछन्।

प्रहरीमा गीत लेख्ने कार्की एक्ला व्यक्ति होइनन् तर अहिलेको सन्दर्भलाई समेटेर संगठनको आत्मबल बढाउनेचाहिँ उनी एक्ला भए। किनकि जेनजी आन्दोलनपछि संगठनको मनोबल बढाउने गीत अर्को आएको छैन। यो गीतले देखाउँछ कि सत्यसेवा, समर्पण र अनुशासनले समाजमा शान्ति र विकास ल्याउन सक्छ।

नेपाल प्रहरीका अधिकारीहरूले आफ्नो व्यक्तिगत अनुभव, जोखिमपूर्ण कार्य र समाजप्रतिको जिम्मेवारीलाई संगीत, कविता र भिडियोमार्फत साझा गरेको यो पहिलो उदाहरण होइन। तर ‘आमा म त खरानीबाट उठेर आएँ’ जस्तो मार्मिक भाव र व्यक्तिगत अनुभव समेटिएको गीत कमै छन् । गीतले प्रहरी सेवा केवल कानुन पालना मात्र नभई मानव संवेदना, जोखिम र समर्पणको मिश्रण भएको देखाउँछ।

समग्रमा भन्नुपर्दा ‘आमा म त खरानीबाट उठेर आएँ’ केवल गीत होइन, यो मानवता, समर्पण र जिम्मेवारीको प्रतीक हो । यसले पुलिसको संघर्ष र मनोबल देखाउँछ। यसले आमनागरिकप्रतिको जिम्मेवारी र संवेदना उजागर गर्छ। यसले समाज र सुरक्षा संस्थाबिचको सम्बन्ध बलियो बनाउने प्रयास गर्छ।

त्यसैले होला, गीत सार्वजनिक भएपछि नागरिकहरूले मन पराएका छन्। ‘यो केवल मनोरञ्जनको साधन मात्र होइन, समाजमा चेतना, जिम्मेवारी र निःस्वार्थ सेवाको प्रेरणा पनि हो,’ सामाजिक सञ्जालमा सुदीप कार्की लेख्छन्, ‘यो गीत सुन्दा आँखा भरिएर आयो । यसले सकारात्मक सन्देश दिएको छ।’

 सुदीपले भनेजस्तै सन्देश स्पष्ट छ– संकटको समयमा उठ्ने र आफ्नो कर्तव्यमा समर्पित हुने प्रहरी हाम्रो समाजका आधारशिला हुन्। यसले सिर्जनशीलता, अनुशासन र मानव संवेदनाको मेल प्रस्तुत गरेको छ र हाम्रो समाजका लागि प्रेरणादायी उदाहरण बनेको छ।

प्रहरीमा दानबहादुर कार्की कडा स्वभावका ‘कमान्डर’ हुन् । मातहतका प्रहरी कर्मचारी उनीसँग हच्किने गर्छन् । कमान्डमा ‘कठोर’ शैली पछ्याउने कार्की अहिले आइजिपी रहेका छन् । उनले भदौ २४ मा आगजनीका दृश्यहरू सडक र जहाजबाट नियालेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि चारवटै सुरक्षा निकायका प्रमुखसँगै कार्की पनि बालुवाटारबाट सेनाको हेलिकोप्टरमा सेनाको मुख्यालय जंगी अड्डा जाँदा उनले त्यो दृश्यलाई आँखामा कैद गरे।

सिंहदरबारमा प्रदर्शनकारीले आगजनी गरेको प्रहरीको सञ्चारसेट ‘वाकीटकी’मा बजिरहेको थियो। सुरक्षा प्रमुखहरू सिंहदरबार क्षेत्रको दृश्य हेर्दै जंगी अड्डामा ओर्लिए। त्यसैदिन उनले कमान्ड गरेको रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको भवन पनि खरानीमा परिणत भइसकेको थियो। त्यसभन्दा पछाडि दुई महिना उपत्यका कमान्ड गरेका कार्कीले नयाँ गीत लेखे, ‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ।’

यसअघि प्रहरीको औपचारिक र अनौपचारिक कार्यक्रममा लगातार गुन्जिने ‘हर गाउँ हर नगरी फूलको वासना सरी, नागरिकलाई मानी सर्वोपरि,’ बोलको गीत ल्याएर चर्चामा आएका थिए। नागरिकका लागि आफ्ना रहर मारेर द्वन्द्व, बन्द र धुलोधुवाँमा प्रहरी खट्ने गरेको छ भन्ने भावनाको सो गीत लेखेर कार्कीले प्रहरी जीवनको समर्पण नागरिकमा हुनुपर्ने भावना अभिव्यक्त भएका थिए।

प्रकाशित: २ फाल्गुन २०८२ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App