रसुवामा आएको बाढीका कारण चितवनसम्म बगाएर ल्याइएका पहिचान नभएका तथा बेवारिसे शवमध्ये आज करिब एक सय शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शवको डिएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरेपछि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगल क्षेत्रमा शव व्यवस्थापन गर्न लागिएको हो ।
शव सड्ने तथा दुर्गन्ध फैलिने सम्भावना बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले पहिचान नभएका तथा बेवारिसे शवलाई ‘शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका–२०८३’ बमोजिम जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। शव गाड्नको लागि अन्तराष्ट्रिय प्रोटोकल अनुसार खाडल खनिएको प्रहरीले जानकारी दिएको छ । केही शव गाड्नका लागि घट्ना स्थानमा लगिएको छ।
व्यवस्थापन गर्नुअघि प्रत्येक शवको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपछि देवघाटस्थित तोकिएको खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ। प्रशासनले विषम परिस्थितिमा गरिएको निर्णयलाई सकारात्मक रूपमा लिँदै शव व्यवस्थापनमा सहयोग, समन्वय तथा आवश्यक सूचना सम्प्रेषण गरिदिन सबैमा अनुरोध गरेको छ।
गत भदौ १० गते रसुवामा आएको बाढीपछि चितवनमा हालसम्म २५९ वटा शव फेला परेका छन्। तीमध्ये ६ वटा शवको मात्रै सनाखत भएको छ भने बाँकी २५५ वटा शव अस्पताल तथा होल्डिङ सेन्टरमा राखिएका छन्।
चितवन उद्योग संघसँगै जोडिएको औद्योगिक प्रतिष्ठानमा राखिएका ८० वटा शवको डिएनए नमुना संकलन भइसकेको छ। पहिलो चरणमा सोही स्थानमा राखिएका शवमध्ये करिब एक सय शव देवघाटमा व्यवस्थापन गरिने तयारी गरिएको हो।
डिएनए नमुना संकलनका लागि अहिले ७ जना फरेन्सिक चिकित्सक, ७ जना दन्त चिकित्सकसहित ४० जनाको टोली परिचालन गरिएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भेरी अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा काठमाडौंस्थित नेपाल मेडिकल कलेजका फरेन्सिक चिकित्सक नमुना संकलनमा खटिएका छन्।
शवको वैज्ञानिक पहिचान तथा भविष्यमा आफन्तले दाबी गर्न सक्ने अवस्था सुनिश्चित गर्न डिएनए नमुना र संकेत नम्बरका आधारमा अभिलेख सुरक्षित राखिने प्रशासनले जनाएको छ।
प्रकाशित: १३ भाद्र २०८३ २०:२८ शनिबार




-600x400.jpg)
