सीमावर्ती ठाढीबाट सशस्त्र प्रहरीले शनिबार एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वाले भगवानपुर गाउँपालिका ४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई पक्राउ गरेको हो।
भारतीय सहर लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल आउँदै गरेका साहलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले स्रोत नखुलेको ७ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको सशस्त्र प्रहरी सिरहाले जनाएको छ।
बरामद रकममा एक हजार दरको ४७९ थान र पाँच सय दरको ५४२ थान नोट छ।
स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको रहेको प्रहरीको दाबी छ। उनी लहानदेखि भारतीय रुपैयाँ लौकहालगायत भारतीय सहर पुर्याउने र पारीबाट नेपाली रुपैयाँ लहान ल्याउने धन्दाका व्यावसायिक कारोबारी रहेको सुरक्षा स्रोतले जनाएको छ।
प्रकाशित: ११ आश्विन २०८२ १३:०३ शनिबार





