शहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षभित्र बाँके जिल्लाका विभिन्न स्थानमा जनताको आवास निर्माण कार्य अघि बढाउने भएको छ ।
‘जनता आवास कार्यक्रम’ अन्तर्गत तीन पालिकामा आठवटा घर निर्माण गर्न लागेको हो । नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा आवास निर्माणको प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ मा ३ घर, जानकी गाउँपालिका–६ मा १ घर, सोही गाउँपालिका वडा नम्बर १ मा २ घर र खजुरा गाउँपालिका–३ मा २ घर निर्माण गरिने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सो कार्यक्रमअन्तर्गत निर्माण हुने आवास विपन्न, भूमिहीन र आवासविहीन परिवारका लागि लक्षित गरिएको हो । आवास निर्माण गर्न स्थानीय तहको सिफारिस र लाभग्राही छनोट प्रक्रिया सुरु भएको छ ।
निर्माण कार्यबारे जानकारी दिँदै शहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियरले भने, ‘यो कार्यक्रम विशेषगरी अत्यन्तै विपन्न, एकल महिला, दलित तथा अपांगता भएका नागरिकका लागि हो । जसले अहिलेसम्म पक्की छाना पाएका छैनन्, उनीहरूलाई यो योजनाबाट सुविधा पुर्याउने लक्ष्य छ ।’
कार्यालयले लाभग्राहीका लागि आवास निर्माणमा सहभागिता सुनिश्चित गर्नुपर्ने पनि स्पष्ट पारेको छ । निर्माणमा घरधनीको प्रत्यक्ष संलग्नता, स्थानीयस्तरको प्राविधिक सहयोग र गुणस्तर मापदण्ड पालनामा जोड दिइएको छ ।
आवास निर्माणका लागि आवश्यक मापदण्डसमेत कार्यालयले सार्वजनिक गरेको छ । जनताको प्रतिनिधि र लाभग्राहीको नागरिकता, जग्गा स्वामित्वको प्रमाण, तथा आवास निर्माणका लागि स्थानीय सिफारिस आवश्यक पर्ने जनाएको छ । साथै, लाभग्राहीले आफू बसोबास गर्दै आएको अस्थायी आवास वा टहरोको फोटो तथा जग्गाको विवरण बुझाउनुपर्नेछ । शहरी विकास तथा भवन कार्यालयले यस वर्षको कार्यक्रमलाई पनि समयमै सम्पन्न गर्न तयारी थालेको छ ।
कार्यालयका अनुसार आवास निर्माणले जिल्लामा बस्ती विकास, सुरक्षित आवास र मानव मर्यादामा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रकाशित: २२ आश्विन २०८२ १९:२० बुधबार





