१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

मकवानपुरगढीमा घरमा आगलागी, २५ लाख बराबरको क्षति

फाइल तस्बिर

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर तथा भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार राति करिब ११ बजे स्थानीय इन्द्रबहादुर कठायतको इँटा र काठले बनेको, जस्ताको छानो भएको दुई कोठे कच्ची घरसँगै रहेको भान्साकोठामा अचानक आगलागी भएको थियो। घटनाको खबर राति ११ः३० बजे प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

हेटौंडा उपमहानगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा आज बिहान करिब १ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर तथा भान्साकोठा पूर्ण रूपमा जलेका छन्। पीडितका अनुसार लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार रुपैयाँ, करिब ४ तोला सुन, एक थान डुक मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने एक थान क्यामरा र एक सेट कम्प्युटर जलेर नष्ट भएका छन्।

आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् करेन्ट सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ। आगलागीपछि पीडित परिवार छिमेकीको घरमा बसेको जनाइएको छ।

प्रकाशित: १८ भाद्र २०८३ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App