भदौ १० गतेको बाढीले देशका विभिन्न क्षेत्रमा पुर्याएको क्षतिको आकार विकराल छ। घर, पूर्वाधार र सम्पत्ति गुमाउनेको पीडा एकातिर छ भने आफन्त बेपत्ता भएपछि उनीहरू जीवितै छन् कि छैनन् भन्ने अन्योलमा दिनरात बिताइरहेका परिवारको पीडा झन् कहालीलाग्दो छ।
तर यही विपत्तिका बीच नेपाली समाजमा ‘हामी हाम्रो देश उठाउँछौँ’ भन्ने आशा भने मरेको छैन। बाढीमा बेपत्ता भएकामध्ये आँखैले शव नदेखे पनि अब जीवित भेटिने आशा मारिसकेका नागरिकसमेत १२औँ दिनमा उद्धार हुँदा जीवितै बाहिरिएका छन्। कतिपय परिवारले आफन्तको माया मारेर किरियासमेत सुरु गरिसकेको अवस्थामा उनीहरू जीवितै भेटिँदा सम्पर्कविहीन आफन्तको पर्खाइमा पलपल तड्पिरहेका परिवारमा फेरि आशाको किरण पलाएको छ।
तर सबै परिवारले त्यस्तो खुसीको खबर पाउन सकेका छैनन्। बेपत्ता आफन्तको खोजी र उद्धार अपेक्षित गतिमा अघि नबढेको भन्दै पीडित परिवार तथा आफन्तले आफ्नो पीडा सरकारसमक्ष पुर्याउन र खबरदारी गर्न माइतीघरमै पुग्नुपर्ने अवस्था आएको छ।
नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले सोमबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्दै उद्धार तथा खोजी कार्य तीव्र बनाउन माग गरेका छन्।
बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा खोजी तथा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी सुमन नयाँजूले बेपत्ता व्यक्तिको उद्धारका लागि अझै सशक्त र तीव्र रूपमा काम गर्न माग गर्दै आफूहरू माइतीघरमा उपस्थित भएको बताए।
‘रेस्क्युलाई अझै सशक्त र फास्ट गर्नका लागि हामी यहाँ उपस्थित भएका हौँ। बाढीले धेरै ठाउँमा असर पारेको र भौगोलिक अवस्थाका कारण पनि उद्धारमा कठिनाइ भएको हुन सक्छ,’ उनले भने, ‘तर स्रोत र साधन भए तत्काल सञ्चालन गर्ने र नभएको अवस्थामा पनि कहाँबाट उपलब्ध गराउन सकिन्छ भन्नेतर्फ सरकारले पहल गर्नुपर्ने थियो।’
उनले उद्धारका लागि सुरुदेखि नै उपलब्ध स्रोत–साधन परिचालन गर्नुपर्नेमा ढिलाइ भएको गुनासो गरे।
‘देश–विदेश सबैतिरबाट सहयोग गर्छु भन्दा पनि छैटौँ–सातौँ दिनसम्म सरकारले निजी क्षेत्रलाई आफैँ उद्धार गर्छु भन्दा पनि अनुमति दिनुभएको थिएन। सातौँ दिनपछि मात्रै निजी कम्पनीले पनि आफैँ उद्धार गर्न सक्छ भनेर हात उठाइदिएको अवस्था आयो,’ उनले भने, ‘सुरुको दिनदेखि गर्नुपर्ने काम सातौँ–आठौँ दिनमा हुँदा धेरै ढिला भयो।’
त्रिशूली–३ ‘बी’मा उद्धार कार्य निकै सुस्त रहेको दाबी गर्दै नयाँजूले आयोजनाका संरचना अझै बाढीले पुरिएको बताए।
‘आजसम्म पनि त्रिशूली–३ ‘बी’का पूरै बिल्डिङ, हाउसहरू र अफिसहरू सबै पुरिएका छन्। त्यसमा काम पाँच प्रतिशत पनि भएको छैन। १० गते बाढी आएको, भदौ २१–२२ गते भइसक्दा पनि पाँच प्रतिशत काम सुरु भएको छैन। अब तपाईंहरू आफैँ मूल्याङ्कन गर्नुहोस्,’ उनले भने।
सरकार चुक्यो कि चुकेन भन्ने प्रश्नमा भने उनले अहिले सरकारलाई दोष दिएर मात्र बस्नेभन्दा पनि बेपत्ता व्यक्तिको उद्धारमा तत्काल केन्द्रित हुनुपर्ने बताए।
सुरक्षा निकायले केही स्थानमा प्रभावकारी काम गरेको र नागरिकलाई जीवितै उद्धारसमेत गरेको स्वीकार गर्दै उनले उपलब्ध स्रोत, प्रविधि र जनशक्तिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।
बेपत्ता परिवार तथा आफन्तलाई समेत उद्धार अभियानमा समेटेर अघि बढ्न उनले सरकारसँग अपिल गरे।
बाढीपहिरोपछि सरकारले उद्धार तथा खोजी अभियान सञ्चालन गरिरहेको भए पनि पीडित परिवारले उद्धारको गति अपेक्षित नभएको गुनासो गर्दै आएका छन्। एकातिर १२औँ दिनसम्म पनि जीवित नागरिक उद्धार हुने आशाले परिवारमा आशा जगाएको छ भने अर्कोतिर आफ्ना प्रियजनको अवस्थाबारे कुनै खबर नपाउँदा कैयौँ परिवारको पीडा झन् गहिरिँदै गएको छ।
आँखाअगाडि शव नदेखेसम्म आशा नमर्ने नेपाली समाजको यही विश्वासले अहिले पनि बेपत्ता परिवारलाई आफन्त फर्किने प्रतीक्षामा राखेको छ। त्यसैले उनीहरूका लागि उद्धारको हरेक दिन, हरेक घण्टा र हरेक प्रयास जीवन र मृत्युबीचको आशाको डोरी बनेको छ।
प्रकाशित: २२ भाद्र २०८३ १७:०४ सोमबार





