२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

बाढीपीडितका लागि पठाउन लागिएको राहतमा घुन लागेको चामल र म्याद गुज्रेको सामग्री फेला

भोटेकोशी बाढीपीडितका लागि संकलन तथा भण्डारण गरिएका राहत सामग्रीमा म्याद गुज्रेका र गुणस्तरहीन भएका भेटिएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले भदौ २० र २१ गते गरेको निरीक्षणका क्रममा यस्तो फेला परेको हो।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गरी अखाद्य वस्तुहरू हटाउनुका साथै आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ।

सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा राहतका लागि राखिएको ६३१ केजी खुल्ला चामलमा स्पष्ट घुन लागेको पाइएपछि त्यसलाई नष्ट गर्न ‘इक्सपायर्ड जोन’ मा राखिएको विभागले जनाएको छ।

साथै, सगरमाथा एग्रो ट्रेडिङ्ग वीरगन्जको ‘जय हो’ ब्राण्डका दुई बोरा म्याद गुज्रेको चामल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

सोही स्थानमा कलश चिउरा उद्योग सप्तरीको दुई बोरा चिउरा भिजेको अवस्थामा पाइएको र सहरी विकास तथा भवन निर्माण विभागमा राखिएका सामग्री जाँच गर्दा काभ्रेको राधाकृष्ण ब्राण्डको ८ पोका बिस्कुटको उपभोग्य म्याद सकिएको भेटिएपछि ती सामग्री पनि हटाइएको विभागले जनाएको छ।

यस्तै, भदौ २० गतेको निरीक्षणमा राधा स्वामी सत्सङ्गमै श्री तिरुपती बालाजी फ्लोर मिल बाराद्वारा उत्पादित ५ केजीको आटाको म्याद सकिएको पाइएको विभागले जनाएको छ।

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भने राहतका लागि राखिएका फोर्टिफाइड स्टिम जिरा मसिनो चामल, तेल र आयो नुनको अवस्था सन्तोषजनक रहेको र उपभोग्य मिति बाँकी रहेको पाइएको विभागले जनाएको छ।

अनुगमन टोलीले राहत सामग्री भण्डारण तथा वितरण गर्दा अनिवार्य रूपमा ‘असल वितरण अभ्यास’ पालना गर्न र पीडितसम्म गुणस्तरीय खाद्य पदार्थ मात्र पुर्‍याउन निर्देशन दिएको छ।  

प्रकाशित: २२ भाद्र २०८३ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App