दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता भए। मल लिन तुलसीपुर गएका उनी बेपत्ता भएको यतिका वर्षमा पनि परिवार उनको पर्खाइमा बसिरहेको छ। ‘अझै पनि आउनुहुन्छ कि भन्ने लाग्छ, आशा अझै मरेको छैन,’ भाइ सीताराम चौधरीले भने।
त्यस्तै आशामा छिन् तुलसीपुर उपमहानगरपालिका–११ निवासी लक्ष्मी चौधरी पनि। उनको श्रीमान् खोपीराम चौधरी विसं २०५९ मा बेपत्ता भएका थिए। त्यसपछि अहिलेसम्म पत्ता लाग्न सकेको छैन। ‘न त सास छ, न त शव नै भेटियो, अझै पनि आउनुहुन्छ कि भन्ने लाग्छ,’ उनले भनिन्।
सरकारले यथार्थ पत्ता नलगाइदिँदा अझै घाउमा मल्हम लाग्न नसकेको उनको भनाइ छ। पटकपटक अन्तरक्रिया कार्यक्रम हुने, अवस्था बुझ्न आउने गरे पनि वास्तविक अवस्था पत्ता लाग्न नसकेको उनको दुखेसो छ।
घोराही उपमहानगरपालिका–१७ निवासी बिपीन आचार्यका बुवा थानेश्वर आचार्य विसं २०५९ मा बेपत्ता भए। उनी बेपत्ता भएपछि अहिले घरमा अंशबण्डा नै प्रभावित भएको छ। भाइ सीताराम चौधरी भन्छन्, ‘बुवा बेपत्ता छन्, मृत्यु दर्ता पनि गरिएको छैन, जसको कारण अंशबण्डा भएको छैन।’
उनीहरूजस्तै धेरै बेपत्ता परिवारका सदस्यको बारेमा कुनै जानकारी नहुँदा परिवार पीडित छन्। घरकै मुख्य मान्छे बेपत्ता हुँदा घर चलाउन समस्या हुने गरेको छ। द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले युद्धको समयमा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे जानकारी हुन नसकेका कारण युद्ध सकिएको मान्न नसकिने बताउँछन्।
विस्तृत शान्ति सम्झौता भएको १९ वर्षसम्म बेपत्ता छानबिन हुन नसक्नु दुखद भएको उनको भनाइ छ। नेपाल रेडक्रसको तथ्यांकअनुसार दाङमा ८२ परिवारका सदस्यहरू बेपत्ता पारिएका छन्। रासस
प्रकाशित: १६ भाद्र २०८२ ०६:५७ सोमबार





