काठमाडौंबाट हाइकिङमा हिँडेको पर्यटन पथप्रदर्शकको टोली नै अनकन्टार जंगलमा फसेको छ ।
सुन्दरिजलबाट चिसापानी जानेक्रममा साँझ ६ बजे मूलखर्क पुगेको थियो । मूलखर्कसम्म सम्पर्कमा रहेको टोली अहिले भने सम्पर्कविहीन बनेको छ ।
त्यहाँबाट डेढ घण्टाको बाटोसम्म मोबाइलमा नेटवर्क हुँदा आफन्तसँग सम्पर्क भएपनि त्यसपछि भने सम्पर्क भएको छैन ।
टोलीमा ४५ वर्षका विष्णु भट्टराई, ४३ वर्षका विपीन श्रेष्ठ र ३५ वर्षका जदिश अधिकारी छन् ।
यो टोलीमा रहेका विष्णु भट्टराईले आफन्तसँगको कुराकानीमा अनक्टार जंगलमा पुगेको बताएका थिए । विष्णुको भनाई उद्दृत गर्दै भूपाल लुइँटेलले भने, ‘हामी अनकन्टार जंगलमा आइपुग्यौँ । अब कता जाने भन्ने केही टुंगो छैन । त्यहाँ निसान भनेको नेपाली सेनाको क्षेत्र हो भन्ने छ । यहाँ सेनाले नो इन्ट्री लेखेको पाइएको छ । आफूहरु कहाँ र कस्तो ठाउँमा छौँ भन्ने आफैँलाई थाहा छैन । जंगली जनावरको आवाजले त्रास बढाएको छ ।’
उनीसँगको सम्पर्कपछि भने तीनै जनाको मोवाइलमा सम्पर्क हुन छाडेको परिवार सदस्यले बताएका छन् ।
हाइकिङमा हिँडेको टोलीको उद्धारका लागि पहल थालेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका अप्रेसन इन्चार्ज डीएसपी सुन्दर तिवारीका अनुसार खोजीका लागि टोली परिचालन भएको छ ।
प्रहरीले लोकेसन ट्याक गरी चाँडो उद्धार गर्ने गरी काम थालेको तिवारीले बताएका छन् ।
यता बौद्ध प्रहरीकाडीएसपी जयश्वर रिमालले सम्पर्कको नजिक पुगेको बताउँदै । शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएको सेनासँग समन्वय गरी खोजविन भइरहेको बताएका छन् ।
उद्धारमा पुग्यो सेना
निकुञ्ज भित्रको नेपाली सेनाको कार्य क्षेत्र भएकाले सेनाले ट्याक गरी फसेका यात्रुको लोकेसन फेला पारेको जनाएको छ । त्यहाँ कार्यरत चन्द्रनाथ गणका गणपति दीपक केसीले फसेका तीनैजनासँग सम्पर्क भएको र रेस्क्यू प्रक्रिया अघि बढेको बताए । उनीहरु चिसापानी नजिकै पुगेको पाइएको र फर्काउन टोली परिचालन भइसकेको बताएका छन् ।
प्रकाशित: १४ भाद्र २०८२ २१:५५ शनिबार





-600x400.jpg)