लगातारको वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाघझोरामा अवरुद्ध भएको हेटौँडा–भीमफेदी–काठमाडौँ सडक खण्ड सशस्त्र प्रहरीको सक्रियतामा पुनः सञ्चालनमा आएको छ।
सडक सुचारु भएसँगै त्यहाँ अलपत्र परेका यात्रु तथा सवारी साधनहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
सोमबार दिउँसो ४ बजेको समयमा अविरल वर्षाका कारण बाघझोरा खोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
मुख्य सडक ठप्प भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मुख्यालय मकवानपुरबाट उद्धार टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले सडक विभागसँग आवश्यक समन्वय गरी लोडरको सहायताबाट सडकको अवरोध हटाई यातायात सुचारु गरेको हो। बाटो खुलाएसँगै वर्षाका कारण बीच बाटोमै अलपत्र परेका यात्रु र सवारी साधनहरूलाई सुरक्षित रूपमा आ-आफ्नो गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २९ असार २०८३ २१:१७ सोमबार





