३० असार २०८३ मंगलबार
image/svg+xml
अर्थ

पोखरामा ‘नोम्याड्स बेसक्याम्प फेस्टिभल’ हुने

डिजिटल नोम्याड्सको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा प्रवर्द्धन गरिने

पोखरामा आगामी असोज ९ देखि ११ गते (सेप्टेम्बर २५–२७) सम्म ‘नोम्याड्स बेसक्याम्प फेस्टिभल’ आयोजना हुने भएको छ। साराङ सर्भिसेज र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा हुने महोत्सवका लागि दुवै संस्थाबीच आइतबार पोखरामा औपचारिक सम्झौता भएको हो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार महोत्सवमार्फत पोखरालाई डिजिटल नोम्याड्स, रिमोट वर्कर, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा नवप्रवर्तनकर्ताको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा प्रवर्द्धन गरिनेछ।

त्रिदिवसीय महोत्सवमा हरेक दिन फरक विषयमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछ। पहिलो दिन कृत्रिम बुद्धिमत्ता (एआई), स्टार्टअप, उद्यमशीलता, डिजिटल व्यवसाय र भविष्यको कार्यशैलीबारे छलफल हुनेछ। दोस्रो दिन स्वतन्त्र जीवनशैली, मानसिक स्वास्थ्य, उत्पादकत्व, साहसिक पर्यटन, समुदाय निर्माण तथा नेपालले डिजिटल नोम्याड्सलाई दिन सक्ने अनुभवबारे विमर्श गरिनेछ।

तेस्रो तथा विश्व पर्यटन दिवसका अवसरमा दिगो पर्यटन, पर्यटनमा नवप्रवर्तन, गन्तव्य ब्रान्डिङ, सांस्कृतिक आदानप्रदान, पर्यटनमा लगानीका सम्भावना तथा नेपालको पर्यटनको भविष्यबारे छलफल हुनेछ। समापन समारोहमा सांस्कृतिक प्रस्तुति, स्थानीय अनुभव आदानप्रदान र नेटवर्किङ कार्यक्रम पनि समावेश गरिने आयोजकले जनाएको छ।

परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले महोत्सवले पर्यटन व्यवसायी, उद्यमी र विद्यार्थीलाई विश्वभरका डिजिटल नोम्याड्स र उद्यमीहरूसँग जोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले पोखरालाई घुम्नमात्र होइन, बस्न, रिमोट रूपमा काम गर्न, व्यवसाय सुरु गर्न र स्थानीय समुदायसँग सहकार्य गर्न सकिने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

नेपालको पहिलो डिजिटल नोम्याड्स फेस्टिभल सन् २०२५ मा आयोजना गरिएको थियो।

 

प्रकाशित: २९ असार २०८३ २१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App