हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाद्वारा यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिमा उल्लेख छ।
मौसम बुलेटिनका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ ०६:३९ बिहीबार





