१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सैनामैनामा १५३.२ मिलिमिटर वर्षा हुँदा मधेसमा अपेक्षाकृत कम

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ।

विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिएकी छन्। त्यस अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ।

महर्जनका अनुसार पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन। पछिल्लो समय अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। लुम्बिनी प्रदेशको पश्चिमी तराईमा २४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

'आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ,' उनले भनिन्।

विभागका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी भारी वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा पनि भारी बर्षा हुने जनाइएको छ।

मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना भएकाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: ४ श्रावण २०८३ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App