देशभर गर्मी क्रमशः बढ्दै गएको छ। शुक्रबारको तुलनामा आज (शनिबार) देशका विभिन्न स्थानमा अधिकतम तापक्रम उकालो लागेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी नेपालगन्जमा ३९ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ।
शुक्रबार ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको नेपालगन्जको तापक्रम आज एकैदिनमा साढे १ डिग्रीले बढेको हो। गत आइतबार ३३ दशमलव ६ डिग्री सेल्सियस रहेको नेपालगन्जको तापक्रम एक सातामै साढे ५ डिग्रीले वृद्धि भएको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिपायलमा ३८ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
गत आइतबारको तुलनामा धनगढीमा पनि ५ डिग्री सेल्सियस तापक्रम बढेको छ। आइतबार ३३ दशमलव ३ डिग्री सेल्सियस रहेको धनगढीको तापक्रम आज ३८ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ।
दाङको घोराहीमा आज ३५ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। त्यहाँ आइतबार ३० दशमलव ८ डिग्री सेल्सियस अधिकतम तापक्रम थियो।
भैरहवामा एक सातामै अधिकतम तापक्रम ३ डिग्रीले बढेर ३६ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ। त्यहाँ गत आइतबार ३३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
जनकपुरमा आज तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। गत आइतबार ३३ डिग्री सेल्सियस रहेको थियो। त्यस्तै, विराटनगरमा गत आइतबार ३२ डिग्री सेल्सियस मापन भएको तापक्रम आज ३३ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ।
काठमाडौंमा गत आइतबार २५ दशमलव ३ डिग्री सेल्सियस रहेको तापक्रम आज २८ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ।
किन बढ्यो गर्मी ?
पश्चिमको तुलनामा पूर्वी क्षेत्रमा अधिकतम तापक्रम केही कम मात्रामा बढेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा दैनिक वर्षा भइरहेको तथा बागमती प्रदेशका पहाडी भेगमा पनि छिटपुट पानी परिरहेकाले आसपासका क्षेत्रमा गर्मीको वृद्धि तुलनात्मक रूपमा कम भएको महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार पछिल्लो एक सातादेखि देशका विभिन्न स्थानमा वर्षा कम हुँदा गर्मी बढेको हो।
'मनसुन सुरु हुनुअघि नै औसतभन्दा बढी वर्षा भए पनि पछिल्ला केही दिनयता कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा मात्र बदली हुने र सीमित ठाउँमा वर्षा भइरहेको छ।,' उनले भनिन्, 'पश्चिम नेपालमा पश्चिमी उच्च चापीय रेखा बनेको छ, जसका कारण वर्षा हुन सकेको छैन।'
एक सातायता वर्षा कम भएसँगै देशभर तापक्रम वृद्धि भएको हो। यद्यपि प्रिमनसुन अवधिमा पर्नुपर्ने सरदरभन्दा बढी वर्षा ‘रेकर्ड’ भएको उनले जानकारी दिइन्। 'प्रिमनसुनमा अप्रिल १७-१८ सम्म झण्डै ३० प्रतिशत वर्षा हुनुपर्नेमा यस वर्ष शुक्रबारसम्म ४४ दशमलव ३ प्रतिशत वर्षा भइसकेको छ,' उनले भनिन्।
मौसमविद् महर्जनका अनुसार विभागअन्तर्गत रहेका २० वटा मौसमी स्टेसनमध्ये जुम्लामा सरदर आसपास वर्षा मापन भएको छ भने अन्य अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा भएको छ। हालसम्म १०१ दशमलव ४ मिलिमिटर वर्षा भइसकेको उनले बताइन्।
तत्काल ठूलो वर्षा भएर गर्मी घट्ने अवस्था नरहेकाले स्वास्थ्यमा ध्यान दिन मौसमविद्ले सुझाव दिएका छन्।
बढ्दो गर्मीबाट जोगिन के गर्ने ?
गर्मीबाट जोगिन विभिन्न उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन्। कन्सल्ट्यान्ट फिजिसियन डा. रोशनकुमार झाका अनुसार गर्मी मौसममा तापक्रम बढ्नु सामान्य भए पनि अत्यधिक वृद्धि हुँदा शरीरको तापीय सन्तुलन बिग्रन सक्छ। यस्तो अवस्थामा गर्मी स्ट्रोक जस्ता समस्या देखिन सक्ने भएकाले प्रशस्त पानी पिउनुपर्ने उनले बताए।
'शरीरमा पानीको कमी हुँदा गर्मी स्ट्रोकको जोखिम बढ्ने भएकाले तिर्खा नलागे पनि पानी पिउनुपर्छ । साथै, नरिवल पानी, कागती पानी, छाछ, काठ स्याउको रसजस्ता प्राकृतिक पेय पदार्थ सेवन गर्नुपर्छ। यसले शरीरलाई शीतल राख्छ।,' उनले भने।
उनले सकेसम्म घाममा बाहिर ननिस्कन आग्रह गरेका छन्। दिउँसो १२ बजेदेखि ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकाले यस समयमा घरबाहिर ननिस्कन प्रयास गर्नुपर्ने उनको भनाइ छ। बाहिर निस्कनै परे टोपी, तौलिया वा छाताले टाउको छोप्नुपर्ने उनले सुझाए।
डा. झाले हल्का भोजन गर्न पनि आग्रह गरेका छन्। भारी, तारेको तथा मसालेदार खानाले शरीरमा ताप बढाउने भएकाले गर्मीमा सजिलै पच्ने, हल्का र तरलयुक्त आहार लिनुपर्ने उनले बताए। साथै, फलफूल र तरकारीको सेवन बढाउनुपर्ने उनको सुझाव छ।
गर्मीको समयमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित हुन सक्ने भएकाले उनीहरूको विशेष हेरचाह गर्नुपर्नेमा उनले जोड दिए।
गर्मी स्ट्रोकका लक्षण चाँडै पहिचान गरी आवश्यक परे चिकित्सकको निगरानीमा रहन पनि उनले सुझाव दिएका छन्।
'यदि कसैलाई उच्च ज्वरो, टाउको दुख्ने, वान्ता हुने, चक्कर लाग्ने, मुटुको धड्कन तीव्र हुने वा बेहोस महसुस हुने जस्ता लक्षण देखिएमा यो गर्मी स्ट्रोक हुन सक्छ। यस्तो अवस्थामा तुरुन्त चिसो स्थानमा राख्ने, चिसो पानीले शरीर पुछ्ने र चिकित्सकको परामर्श लिनुपर्छ।,' उनले भने।
वर्षा कम भइरहेकाले आगामी दिनमा गर्मी अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ।
प्रकाशित: ५ वैशाख २०८३ १९:३३ शनिबार





