२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

रूपान्तरणका लागि आरोग्य पर्यटन नयाँ अवसर

सन्दर्भ विश्व पर्यटन दिवस

संयुक्त राष्ट्रसंघीय पर्यटन संस्था (युएन टुरिजम) ले सन् २०२५ को विश्वपर्यटन दिवसका लागि तोकेको नारा हो ‘दिगो रूपान्तरणका लागि पर्यटन’। त्यसैअनुरूप विश्वले यतिबेला पर्यटनलाई साँच्चै दिगो रूपान्तरणको औजार कसरी बनाउने भन्ने कुरामा विशेष रूपले सोचिराखेको छ। पर्यटनलाई स्थानीय समुदायको जनजीविका उत्थानको दिगो र दरिलो साधन बनाउने मामलामा विश्व नै चुकेको अवस्था छ।

पर्यटनको लाभ सीमित क्षेत्र र सीमित वर्गमा केन्द्रित हुँदा पर्यटन विकासबाट समृद्धि, न्यायोचित लाभ वितरण एवं यसका बहुआयामिक लाभबाट हुनुपर्ने सकारात्मक र टिकाउमूलक विकासमा जेजति अपेक्षा गरिएको थियो, त्यो कही पनि पूरा हुन सकेको छैन।

पर्यटनको लाभ वितरणको मामला कम विकसित तथा विकासोन्मुख मुलुकमा अझ टड्कारो बनेको छ। पर्यटनबाट हुने आयको अधिकांश हिस्सा बाहिरिने (लिकेज हुने) रोगले सबैजसो मुलुकलाई सताएको छ। पर्यटकहरूको भीड बढ्दैमा स्थानीय लाभ बढ्छ भन्ने छैन, पर्यटकको संख्या आकासिँदैमा त्यस गन्तव्यका बासिन्दाको जनजीविकाको सवालमा ठोस परिवर्तन आउँछ भन्ने पनि हुँदैन। मूल कुरा स्थानीय खपत कति हुन्छ र पर्यटनबाट हुने समग्र आयको कति अंश स्थानीयस्तरमा नै बस्छ भन्ने हो। नेपालका सन्दर्भमा यो सवाल झनै चिन्तनीय र मननीय छ।

विदेशी जहाज चढेर नेपाल आउने, अनि नेपालमा बस्दा पनि विदेशी खाना र पेय खपत गर्ने, विदेशी ब्रान्डकै वा फ्रेन्चाइजमा खुलेका होटलमा बास बस्ने, अनि कहिलेकाहीं त विदेशबाटै आउने टोलीको सदस्यले नै गाइड गर्ने गरेको देखिन्छ। यस्तो अवस्थामा नेपालभित्रै अडिने विदेशी मुद्रा कति होला? हामी सहजै अनुमान गर्न सक्छौं। नेपालको यो नियतिले पर्यटन विकासको औचित्य सावित हुँदैन। अनेक समस्याबिच अल्झेको हाम्रो पर्यटन धिमा गतिमा चल्ने र लाभ पनि स्थानीयस्तरमा ज्यादै कम हुने अवस्था विद्यमान छ। यस अवस्थालाई पार लगाउनका लागि नेपालको पर्यटनमा वैकल्पिक उपाय अपनाउनु ज्यादै आवश्यक भएको छ।

पदयात्रा पर्यटन, पर्वतारोहण पर्यटन, जंगल सफारी पर्यटन, आध्यात्मिक तथा धार्मिक पर्यटन, व्यापार तथा बिदा पर्यटन नेपालका चलनचल्तीका पर्यटन हुन्, जसले नेपालको पर्यटनलाई सन् १९५० को दशकदेखि हालसम्म डोर्‍याएका छन्। नेपालको पर्यटन सामान्य डोरिएको मात्रै छ, अपेक्षित र तीव्र विकास त नेपालको पर्यटनमा हुन सकेको छैन।

विश्वका कतिपय मुलुक र छिमेककै पर्यटन हेर्‍यो भने पनि नेपालको पर्यटन विकासको गति टिठलाग्दो छ। सन् २०१० मा भियतनाममा वार्षिक पर्यटक आगमन जम्मा ६० लाख हाराहारीमा थियो, तर त्यो संख्या अहिले करिब दुई करोडको हाराहारीमा पुग्दैछ। नेपालको वार्षिक पर्यटक आगमन विगत १५ वर्षयता उही १०–११ लाख हाराहारीमा फन्को मारिरहेको छ। हामी १२ लाखबाट माथि अहिलेसम्म उक्लिन सकेका छैनौं। यो विडम्बनाभित्र अनेक कारण छन्।

नेपालको पर्यटनमा पर्यटन उपज (प्रोडक्ट) तथा क्रियाकलाप (एक्टिभिटिज) को विविधता विकास गर्ने क्रममा हामी ज्यादै पछि परेका छौं। प्रकृति, संस्कृति र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भनेर जति रटान लगाए पनि बाह्य पर्यटकले हामीलाई अझ पत्याइरहेका छैनन्। खास पर्यटनको ढोका, कोठा र आँगनमा हामी पुग्न सकेका छैनौं।

नेपालमा पूर्वाधारको कमी छ, प्रचारको कमी छ, सचेतनाको कमी छ, विश्वस्तरको क्षमता पर्यटनकर्मीमा बढाउन सकिएको छैन। १० वर्षअघि बनाएको नेपालको राष्ट्रिय पर्यटन विकास रणनीतिले सामान्य खालको बढोत्तरी अपेक्षा गर्दै सन् २०२५ सम्ममा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य तय गरेका थियो। तर २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा भएको ढिलाइ, संविधान निर्माणपछिको भारतीय अर्घेल्याइँ र सम्बन्धित विद्रोह तथा आन्दोलनहरू, सन् २०२० र २०२१ मा देखिएको कोरोना महामारीले पारेको विश्वव्यापी संकट आदिजस्ता अनपेक्षित अवस्था र कारणहरूले नेपाली पर्यटन उँभो लाग्न नसकेको अवस्था छ।

नेपालको पर्यटन तथा अर्थतन्त्र विकास सन्दर्भमा सन् २०२५ फेरि अर्को संकट बनेर आयो। जेनजी आन्दोलनका नाममा घुसपैठवालाहरूले गरेको महाविनाश। यसबाट होटल क्षेत्रलाई ठुलो नोक्सानी भयो। बाह्य संसारमा अशान्ति र अनिश्चितताको सन्देश फैलियो।

आशा राखौं

नेपाली पर्यटन फेरि जगाउनुपर्छ, उठाउनुपर्छ। अपार सम्भावना छ, यसमा हामी कसैको दुईमत रहँदैन। तर पर्यटन विकासमा आएका अनेक अवरोध, तगारा र बाडुलीहरूले पर्यटनका माध्यमबाट नेपालमा समृद्धि ल्याउने, समुदायको दिगो विकासमा टेवा पुर्‍याउने हाम्रा दिगो आकांक्षाहरू साँच्चिकै दिगो रूपमा रूपान्तरण गर्ने कसरी भन्नेमा हामी अझ सशक्त ढंगले लाग्नुपरेको छ। सोचाइसँगै व्यवहारमा पनि नयाँ ढंगले सोच्नुपरेको छ।

 जेनजी आन्दोलनपछिको नयाँ नेपालमा जेनजी पुस्तालाई पनि अधिकतम् सहभागी गराउँदै र जिम्मेवारी बहन तथा कर्तव्यबोध गराउँदै नेपाली पर्यटनले फरक ढंगले सोच्नुपरेको छ। नेपालको नयाँ पर्यटनमा ग्रामीण पर्यटनको उत्थान, होमस्टे पर्यटनको प्रवद्र्धन, समावेशी सांस्कृतिक पर्यटनलाई बढावा, कर्णाली, मधेस तथा सुदूरपश्चिम प्रदेशको पर्यटनलाई आक्रामक ढंगको प्रचारप्रसार तथा विशेष सहुलियतका प्याकेजहरूको प्रावधानजस्ता कुरा अपरिहार्य छन्। साथै पर्यटन उपज वा क्रियाकलापमा एउटा सशक्त पर्यटन हुन सक्छ ‘आरोग्य पर्यटन’ अर्थात् ‘वेलनेस टुरिजम’।

आरोग्य पर्यटन

विश्वले नै यतिबेला नयाँनयाँ खालको पर्यटन अनुभव गर्न खोज्दैछ। नेपालको खास विशेषता भएका पक्ष हामीले उजागर गर्न ढिला भएको एउटा यथार्थ छ। आरोग्य पर्यटनको अपार सम्भावना भएर पनि हामीले यसको सही उपयोग र प्रभावी प्रकारको प्रचारप्रसार गर्दै विश्वभरका पर्यटकलाई तान्ने अवसर गुमाइरहेका छौं। शान्तिको वातावरणमा दिनहुँ भवतु सर्वमंगलम्को पवित्र मन्त्रोच्चारणका साथ आरम्भ र अन्त्य गरिने विपश्यना आफैं शान्ति पर्यटन, आरोग्य पर्यटन, स्वास्थ्य पर्यटन हो।

नेपालमा आरोग्य पर्यटनका रूपमा विस्तार हुँदै गएका ऋग्वेदीय विपश्यना ध्यान, पतञ्जली योग तथा ध्यान, आर्ट अफ लिभिङका आरोग्यमुखी ध्यान तथा अन्य क्रियाकलापहरू, ओशो केन्द्रहरूमा हुने ध्यान शिविरहरू, विभिन्न हिन्दु मन्दिरमा आयोजना हुने पूजापाठ, भजनकीर्तन, प्रवचन, शास्त्रार्थ आदि र धार्मिक तथा आध्यात्मिक वातावरणले सुसज्जित विभिन्न बौद्ध गुम्बा तथा आरोग्य आश्रमहरूले यस दिशामा अपार योगदान पुर्‍याउने सम्भावना देखिएको छ।

नेपालकै विभिन्न सहर र गाउँका व्यक्तिहरू अर्को स्थानमा गएर ध्यान तथा योगमा भाग लिने प्रवृत्ति पनि बढ्दो छ। आरोग्य पर्यटन विस्तारका लागि यी भर्भराउँदा नयाँ सम्भावना हुन्। प्रत्येक हिमालका फेदी, डाँडाकाँडा, नदी किनार तथा असंख्य गुफाले नेपालमा योग तथा ध्यान पर्यटनको सम्भावना बोकेर बसेका छन्, हाम्रा बर्कत र नयाँ अभियान तथा पहल प्रतीक्षा गरेर बसेका छन्।

अब खाँचो छ यी अमूल्य अवसरको महसुस गर्नु, दीर्घकालीन अर्थात् दिगो विकासको योजना बनाउनु, स्थानीय व्यक्तिहरूलाई समेत बढीभन्दा बढी सहभागी गराई ती ठाउँ र क्रियाकलापको प्रवद्र्धन तथा व्यवस्थापन गर्नु, र आइसकेका व्यक्तिहरूको अत्यधिक प्रयोग गरी ‘मुखार सन्देश’ (वर्डस् अफ माउथ) फैलाउने उपाय अवलम्बनका साथ डिजिटल प्रचारका माध्यमबाट विश्वभरि पुग्नु।

नेपालका सबैजसो पर्यटन योजना तथा नीतिहरूमा पनि स्वास्थ्य पर्यटन, आरोग्य पर्यटन, शान्ति पर्यटन (पिस टुरिजम) लाई चर्चा गर्ने र जोड दिने गरिएको छ तर नीतिगत जोडभन्दा पनि कार्य र थितिगत जोड अबको आवश्यकता हो।

स्वास्थ्य पर्यटन भनेको अस्पतालमा उपचार गराउन आउनेबाट हुने पर्यटन हो भन्ने सोचाइसमेत परिवर्तन गरी मनभित्रको शान्ति खोजी मानसिक, शारीरिक तथा आध्यात्मिक तवरले स्वस्थ रहने पद्धति अर्थात् आरोग्यमुखी पर्यटन विकास गर्नमा बुद्धभूमि, शिवभूमि, पाणिनिभूमि, वाल्मिकी भूमि, जनकभूमि, रामभूमि, सीताभूमि रहेको पवित्र देश नेपालले यो सन्देश विश्वभर छर्न सक्छ, पर्यटनबाट अपार लाभ लिन पनि सक्छ र पर्यटनका माध्यमबाट यहाँका जनताको दिगो रूपान्तरण हुने सोचलाई व्यवहारमा उतार्न पनि सक्छ भन्ने कुरामा सबैले विश्वास गरौं। त्यसैअनुरूप अगाडि बढ्ने प्रण पनि आजैदेखि गरौं।

रासस (लेखक काठमाडौं विश्वविद्यालयबाट शिक्षा, सिकाइ र पर्यटन विषयमा विद्यावारिधि प्राप्त शोधकर्ता तथा ग्रामीण पर्यटन विशेषज्ञ हुन्।)

प्रकाशित: ११ आश्विन २०८२ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App