२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

तीन वर्षमा तीन पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन।  

साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुंगो लाग्न सकेको छैन। निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ।  

संघीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ। विसं २०७९ माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए। 

उनले भने, ‘एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लास्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्। भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भए पनि सम्पन्न गर्ने योजनामा छ।’  

भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ। निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो। निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्कविहीन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो।  

नगरपालिकाकै नमूना स्वास्थ्य चौकीको रूपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रदान भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए। भवन सम्पन्न भएपछि गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने उनको भनाइ छ।  

जनताले चन्दा उठाएर रु २१ लाख सङ्कलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थाले पनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताए। रासस

प्रकाशित: १३ मंसिर २०८२ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App