दुई पक्षीय युवा समूहबीचको विवादले उग्र रूप लिएर सुनसरीको देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि बुधबार बिहान इटहरीमा सद्भाव र्याली निकालिएको छ। नागरिक समाज इटहरीको अगुवाइमा आयोजित सद्भाव र्यालीमा हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन आग्रह गर्दै बजार परिक्रमा गरिएको छ।
र्याली सामाजिक एकता, सहिष्णुता र आपसी सम्मान कायम गर्ने उद्देश्यले आयोजना गरिएको नागरिक समाज इटहरीका अध्यक्ष आर के राईले बताए। दिनप्रतिदिन अवस्था भयावह बन्दै गएपछि मंगलबार दुहवीमा पनि हिन्दु र मुस्लिम दुवै समुदायले सद्भाव र्याली निकालेका थिए।

आइतबार राति दुई पक्षबीच भएको झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा कम्तीमा २१ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घटनापछि अवस्था दिनप्रतिदिन थप तनावग्रस्त बन्दै गएको छ।
जिल्ला प्रशासन कार्यालयले सुनसरीका १० वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रभित्र कर्फ्यु लगाइएको छ।

यस्तै, रामधुनी नगरपालिका १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रमा पनि कर्फ्यु आदेश लागू गरिएको छ। त्यसैगरी, इनरुवा र दुहवी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।



प्रकाशित: १३ श्रावण २०८३ ०९:०२ बुधबार





