२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

परिवारमा फर्कियो खुसी

भोटेकोसी हुँदै त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा बेपत्तामध्ये रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका सप्तरीका ३१ वर्षीय सञ्जयकुमार साहको १० दिनपछि शुक्रबार बिहान उद्धार भएपछि उनको परिवारमा खुसीयाली छाएको छ।

नेपाली सेनासहितका उद्धारकर्मीले साह र कविर महर्जनलाई सुरुङबाट निकालेका हुन्। १२ गतदेखि उद्धारमा परिचालित उद्धारकर्मीलाई शुक्रबार यो सफलता मिलेको हो। साह र महर्जनको उद्धारपछि परिवारजनमा खुसी फर्किएको छ भने सुरुङमा फसेका अन्य पनि भेटिने आशा बढेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का साह ३१ वर्षीय साहको सकुशल भेटिएपछि परिवारमा चलिरहेको रुवाबासी रोकिएको छ।

उक्त आयोजनामा कार्यरत साह नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर हुन्। उद्धारपछि साहले भनेकै आधारमा परिवारका सदस्य सम्पर्कमा आएका छन्। साहको अवस्था पत्ता नलाग्दा रुँदारुँदै आमा कपुरदेवी र पत्नी लक्ष्मी साहका आँसु सुक्न थालिसकेका थिए। उद्धारपछि सामान्य बिरामीले जस्तै सञ्जयले भने, ‘बाढी आएपछि अरूलाई भाग्न लगाएँ। म भने भाग्न नपाएर सुरुङभित्रै फसें।’

उद्धारपछि सञ्जय र महर्जनलाई हेलिकोप्टरबाट काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याएर आइसियुमा राखिएको छ। सञ्जयका जेठान देवकुमार साहले सकुशल उद्धार भएपछि परिवारमा ठुलो खुसी छाएको बताए।

सञ्जयलाई खोज्न केही दिनअघि घटनास्थलमा पुगेका देवकुमारले फेला नपारेपछि आशा मरिसकेका बेला सकुशल उद्धार हुँदा भाग्यले बचाएको जस्तो लागेको बताए। खोजीका क्रममा देवकुमार पाँच दिन घटनास्थल वरपर भौतारिएका थिए। उद्धारपछि सञ्जयले १० दिनसम्म सुरुङमा महामृत्युञ्जय मन्त्र जपेको बताए। उनले अरु केही मान्छे पनि सुरुङभित्रै हुनुपर्ने बताए। सञ्जय जीवितै भेटिनुले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका अन्य पनि जीवितै हुन सक्ने उनका परिवारजनका सदस्यले बताए।

सञ्जयका जेठान देवकुमारले सैनिक अस्पतालबाट भने, ‘हामीले त आशा मारिसकेका थियौं। उहाँका बुबाले हिजोमात्रै अस्पताल गएर रगत चेक गर्न दिनुभएको थियो डिएनए परीक्षणका लागि। आज जेठानको सकुशल उद्धार भयो। हाम्रो खुशी फर्कियो। उहाँलाई आइसियुमा राखेर उपचार भइरहेको छ।

परिवारमा चलेको रुवाबासी सञ्जयको उद्धारपछि खुसीमा परिणत भएको उनकी बहिनी सुधाले बताइन्। ‘दाइ सम्पर्कविहीन भएपछि आमा, बुबा, भाउजूलसहित परिवारमा एक प्रकारले शोक छाएको थियो। नौं दिनसम्म पनि अवस्था पत्ता नलाग्दा अत्यास लागेको थियो,’ सुधाले भनिन्।

उनले थपिन्, ‘दाइ सुरुङभित्रै सुरक्षित हुनुहुन्छ, चाँडै उद्धार हुनुपर्छ भन्नेमा हाम्रो जोड थियो। त्यो यथार्थमा परिणत भयो। भगवान्ले हाम्रो परिवारको खुसी फर्काइदिनुभयो।’

सुधाका अनुसार भदौ १० गते बिहान करिब ७ बजेतिर परिवारसँग सम्पर्क गरेका सञ्जय त्यसपछि सम्पर्कविहीन भएका थिए।

सोही दिनदेखि परिवारका सदस्य आशासहितको तनावमा थिए। यस अवधिमा परिवारका सदस्यले सम्पर्क भइहाल्छ कि भनेर मोबाइल फोनमा पटकपटक डायल गर्ने, घटनास्थल पुगेर बुझ्ने, अस्पतालमा पुगेर घाइते र उद्धार गरिएकाको सूची हेर्ने, आफन्तसँग सोध्नेलगायतका काम गरिरहे। बिहान करिब ९ बजे सञ्जयको उद्धार भएपछि परिवारमा देखिएको निराशा र द्विविधा समाप्त भएको छ।

उद्धारको खबर सुरुमा पत्याइनन् हीराशोभाले

त्यस्तै बाढीपछि सम्पर्कविहीन पति कविर महर्जनको सकुशल उद्धार भएको खबरमा सुरुमा पत्नी हीराशोभा महर्जनले विश्वासै गर्न सकिनन्। उनले पतिको उद्धार भएको खबर पाएकी थिइन्। बाढीपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कबिर फर्केलान् भन्ने आशा मर्दै गइरहेको थियो। यस्तो अवस्थामा एकाएक उद्धारको सूचनासहित आएको फोनलाई हीराशोभाले पत्याइहाल्न सकिनन्।

सोही सुरुङमा फसेका सञ्जय साहको उद्धारपछि बिहान ९ः३० बजेतिर कविरको उद्धार गरिएको हो। यो उद्धार उद्धारकर्ताका लागि सफलता थियो भने कविरको परिवारका लागि ठुलो खुसी। सुरुङबाट उद्धारपछि प्राथमिक उपचार गरिएका कविरलाई हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको थियो। सैनिक अस्पतालमा पुगेर कविरलाई भेटेपछि पत्नी हीराशोभाले भनिन्, ‘बाढीपछिका १० दिन मेरा लागि एकदमै कष्टकर रहे। उहाँलाई कति सकस भएको होला ? म मेरा श्रीमान्ले सुरूङमा १० दिन मृत्युसँग जुद्धा भोग्नुभएको पीडाबारे कल्पना पनि गर्न सक्दिनँ।’

हीराशोभाले कबिरलाई अस्पताल बेडमा पुगेर सोधिन्, ‘मलाई चिन्नुभयो ?’ उनका अनुसार कविरले टाउको हल्लाएर चिनेको संकेत गरे। त्यसपछि पानी खुवाएर आफू बाहिरिएको उनले सुनाइन्। ४५ वर्षीय कविरका परिवार र आफन्तहरू यतिखेर अस्पतालमा छन्। उनीहरू सबैको अनुहारमा खुशी फर्किएको देखिन्छ। पत्नी हीराशोभा र भाइ अमिर अस्पतालमा उनको हेरचाहमा खटिएका छन्।

हीराशोभाका अनुसार कविर बाढी आएकै दिन १० गते बुधबार त्यहाँ पुगेका थिए। केही दिन बिदामा ललितपुर बालकुमारीस्थित घर आएका उनी १२ गते शुक्रबार कार्यस्थल जाने तयारीमा थिए। तर मेसिन बिग्रिएको खबर आएपछि उनी बुधबार अर्थात् १० गते आयोजना स्थल पुगेका थिए। कविर पनि मेकानिकल इन्जिनियर हुन्। चिकित्सकका अनुसार सञ्जयको अवस्था सामान्य छ भने महर्जनको केही जटिल छ।

प्रकाशित: २० भाद्र २०८३ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App