७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

दसैँका लागि साढे पाँच लाखले छाडे उपत्यका

दसैँ मनाउन राजधानी काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि मंगलबारसम्म विभिन्न नाकाबाट पाँच लाखभन्दा बढी यात्रु बाहिरिएका हुन्। पछिल्लो २४ घण्टा मात्रै ८५ हजार २८४ जना उपत्यका बाहिरिएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार यात्रुको चाप बढेसँगै प्रमुख नाका र पार्किङ स्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको छ। उनले यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली समेत सक्रिय गरिएको जानकारी दिए। प्रहरीले विशेष गरी लामो दूरीका सवारी चालकलाई मादक पदार्थ सेवन नगर्न, निर्धारित गतिमा मात्र सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि हालसम्म उपत्यकाबाट बाहिरिएका सवारीसाधनको सङ्ख्या एक लाख ८९ हजार पुगेको छ। ती सवारीसाधनमार्फत यात्रु पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशतर्फ बढी गएका छन्।

यसैबिच, उपत्यका भित्रिने यात्रुको सङ्ख्या पनि उल्लेख्य छ। हालसम्म ७२ हजार ४१ सवारीसाधनमार्फत दुई लाख ८५ हजार ३०८ जना काठमाडौँ उपत्यका भित्रिएको प्रहरीले जनाएको छ। कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क र जगतीलगायतका नाकामा यात्रुको चाप बढी देखिएको छ।

राजधानीबाट बाहिरिने यात्रुहरूको मुख्य माध्यम सार्वजनिक सवारी भए पनि निजी सवारीसाधन र पर्यटक बसको प्रयोग गर्नेहरूको संख्या पनि उल्लेख्य छ। दसैँ नजिकिँदै जाँदा गाउँमा पारिवारिक भेटघाट, दुर्गा पूजाको तयारी र टीकाको माहौल चुलिँदै गएको छ भने काठमाडौँमा भने सवारी चाप कम भई सडक तुलनात्मक रूपमा फुर्सदिला देखिन थालेका छन्।

प्रकाशित: १४ आश्विन २०८२ २१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App