राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ का उम्मेदवार अमरेशकुमार सिंहले मुलुकको विद्यमान समस्या समाधानका लागि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्व अनिवार्य रहेको बताएका छन्।
बिहीबार घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिंहले बालेन शाह देश र गरिब जनताको आस्थाको केन्द्र भएको दाबी गरे।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सिंहले बालेन शाह प्रधानमन्त्री नबने आफूले आत्म'दाह गर्ने पुरानो अभिव्यक्तिमा आफू अझै अडिग रहेको स्पष्ट पारे।
‘बालेन शाह प्रधानमन्त्री भएनन् भने मात्र म आत्मदाह गर्छु।’ उनले भने, ‘यो मैले आफ्नो लागि होइन, देशका लागि बोलेको हो। बालेन शाह देशको आवश्यकता हो, गरिबको आवश्यकता हो।’
सिंहले देशमा बढ्दो बेरोजगारी र शैक्षिक अवस्थामा सुधार ल्याउन बालेन शाहको भिजन आवश्यक रहेको तर्क गरे।
‘आज देशका गरिबका छोराछोरी रोजगारीका लागि मलेसिया, कतार र साउदी जान बाध्य छन्। उनीहरूलाई स्वदेशमै रोजगारी दिन र सरकारी विद्यालयको शिक्षा गुणस्तरीय बनाउन बालेन शाह चाहिन्छ,’ उनले सुनाए, ‘किसानले समयमा बिजुली, पानी र मल पाउनका लागि पनि बालेन शाह जस्तो नेतृत्वको खाँचो छ।’
आफ्नो निर्वाचन क्षेत्रको चुनावी अंकगणितबारे बोल्दै सिंहले आफू भारी मतले विजयी हुने दाबी समेत गरे।
उनले भने, ‘मेरो प्रतिस्पर्धा कोसँग छ भन्ने मलाई थाहा छैन, तर म आफ्नो निकटतम प्रतिद्वन्द्वीभन्दा १० हजारभन्दा बढी मतले जित्नेमा ढुक्क छु। जनता मेरो मालिक हुन् र उनीहरूको फैसला मलाई स्वीकार्य हुनेछ।’
बालेन शाहमाथि लाग्ने गरेका विभिन्न राजनीतिक आरोपहरू निराधार भन्दै सिंहले जनता अब सचेत भइसकेको र परिवर्तनको लहरलाई कसैले रोक्न नसक्ने उल्लेख गरे।
प्रकाशित: ७ फाल्गुन २०८२ १८:५९ बिहीबार





