११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

लालबकैया बाढीपछि मर्यादपुरका आधा दर्जन बस्ती जोखिममा

निरन्तरको वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहटको मौलापुर नगरपालिका-१ मर्यादपुरस्थित तटबन्ध कटान गरेपछि आसपासका बस्तीमा डुबानको जोखिम बढेको छ। 

तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण नदीमा जलस्तर बढ्दै गएपछि मर्यादपुरसहित आसपासका करिब आधा दर्जन गाउँ बाढी तथा डुबानको उच्च जोखिममा परेका हुन्। तटबन्ध कटान भएको क्षेत्रमा थप क्षति हुन नदिन नदी नियन्त्रण तथा सुरक्षा निकायको टोली परिचालन गरिएको छ। 

रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा सुरक्षा निकाय सहितको नदी नियन्त्रण टोलीले कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। 

प्रजिअ पौडेलसँगै प्रहरी उपरीक्षक सीताराम रिजाललगायत सुरक्षा निकायका अधिकारी तथा मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले जोखिमयुक्त क्षेत्रको अनुगमन गरेका छन्। 

अनुगमनका क्रममा नदीको जलस्तर, तटबन्धको अवस्था तथा सम्भावित डुबान र कटानको जोखिमबारे जानकारी लिइएको छ। जोखिम बढेमा स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसहित आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई सक्रिय राखिएको प्रशासनले जनाएको छ। 

यसैबिच, लालबकैया नदीको जलस्तर खतराको तह नजिक पुगेको छ। आइतबार बिहान ७:२४ बजेको मापनअनुसार बाराको निजगढस्थित लालबकैया नदी मापन केन्द्रमा पानीको सतह २३८ सेन्टिमिटर पुगेको छ। उक्त स्थानमा १५० सेन्टिमिटरलाई चेतावनी तह र २५० सेन्टिमिटरलाई खतराको तह मानिन्छ। 

मापनअनुसार नदीको जलस्तर चेतावनी तहभन्दा ८८ सेन्टिमिटर माथि पुगेको छ भने खतराको तहभन्दा १२ सेन्टिमिटर मात्र तल छ। 

नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र होचा भू-भागमा बसोबास गर्ने नागरिकमा बाढी तथा डुबानको जोखिम बढेको छ। 

तीन दिनदेखिको झरीसँगै आएको हावाहुरीले जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ। धानबाली भित्र्याउने तयारीमा रहेका किसानको खेतमा पानी जम्दा धान बालीमा क्षति पुग्न थालेको छ।  

वर्षाका कारण जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीले धान, उखु र तरकारीलगायतका बालीमा समेत असर पुगेको स्थानीयले बताएका छन्। 

प्रशासनले लालबकैया नदी आसपासका तटीय क्षेत्र तथा होचा भू-भागका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनार, पुल, घाट तथा कटान भइरहेका क्षेत्रमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा जोखिम बढेमा समयमै सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ। 

सम्भावित बाढी तथा डुबानलाई ध्यानमा राख्दै स्थानीयवासीलाई महत्त्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल फोन तथा आवश्यक आपत्कालीन सामग्री सुरक्षित राख्नसमेत आग्रह गरिएको छ। 

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनामा निरन्तर ध्यान दिन प्रशासनले अनुरोध गरेको छ। 

नदीको जलस्तर बढिरहेको अवस्थामा ‘पानी आफैँ घट्ला’ भनेर जोखिमयुक्त क्षेत्रमा बसिरहनेभन्दा पूर्वतयारीसहित सुरक्षित स्थानतर्फ सर्न प्रशासनले स्थानीयवासीलाई सचेत गराएको छ। 

प्रकाशित: ११ आश्विन २०८३ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App