प्रसिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको माइक्रोबस आइतबार बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
खोटाङ प्रहरीका अनुसार, मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडक खण्डको कदुवास्थित डौँठेखोलामा प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस बिहान करिब ८ बजे दुर्घटनामा परेको हो।
हलेसी तुवाचुङ नगरपालिका-१ मा गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी सिरहाको नरहा गाउँपालिका–३ की अन्दाजी २५ वर्षीया ममतादेवी यादवको मृत्यु भएको छ। कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार, घटनास्थलबाट उद्धार गरी अस्पताल पुर्याउनासाथ चिकित्सकले यादवलाई मृत घोषित गरेका थिए।
दुर्घटनाको खबर पाउनासाथ जयरामघाट, च्यास्मिटार र हलेसीबाट प्रहरी निरीक्षक हेमन्त राईसहितको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो। गाडीमा चालकसहित १८ जना सवार रहेको अनुमान छ।
दुर्घटनामा घाइते भएका १७ जनामध्ये ७ जनाको खोटाङ अस्पतालमा उपचार भइरहेको छ भने १० जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार, गाडीका चालक सिरहा नगरपालिका-३ बस्ने करिब २७ वर्षीय रामनाथ साह दुर्घटनापछि फरार भएका छन्। उनको खोजी कार्य र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खोटाङ अस्पतालमा उपचाररत:
रञ्जित यादव, ३९, नरहा-५, सिरहा (दाहिने हातमा सामान्य चोट)
कुस्मवती यादव, ७०, नरहा-५, सिरहा (टाउकोमा चोट)
लक्ष्मी शर्मा, ३२, नरहा-५, सिरहा
शिला शर्मा, ३७, लहान-८, सिरहा
नदिन शर्मा, ३२, लहान-८, सिरहा
मिना कुमारी शर्मा, लहान-८, सिरहा
धनेश्वर यादव, ५७, लहान-२, सिरहा
थप उपचारका लागि काठमाडौं पठाइएका (गम्भीर घाइते):
राजु यादव, ७०, लहान-२ (टाउको, छाती र औंलामा चोट)
रामशरण ठाकुरकी श्रीमती (नाम नखुलेको), लहान-२ (खुट्टा, आँखा र नाकमा गम्भीर चोट)
सविता कुमारी यादव, ३२, लहान-२
दुर्योधन यादव, ७९, लहान-२
मिथिला कुमारी यादव, ४०, लहान-२
पूनम यादव, ३०, लहान-२
झालु देवी यादव, लहान-५
शिवम शर्मा, १०, लहान
दिपेन्द्र यादव
प्रकाशित: १९ श्रावण २०८२ १६:१६ सोमबार



-600x400.jpg)

