२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नेपाल रिपब्लिक मिडिया अध्यक्षमा ज्ञवाली

नेपाल रिपब्लिक मिडिया लिमिटेडको सञ्चालक समिति अध्यक्षमा शोभा ज्ञवाली चयन भएकी छन्। रिपब्लिक मिडियाको बुधबार काठमाडौंमा सम्पन्न पाँचौं वार्षिक साधारणसभाले पाँच सदस्यीय सञ्चालक समिति चुनेको हो। सञ्चालकमध्येबाट ज्ञवाली अध्यक्ष भएकी हुन्।

साधारणसभाले सञ्चालक समितिमा ज्ञवाली, बालकृष्ण अधिकारी, मदन अर्याल र श्रीधर पोखरेल चयन गरेको थियो। पाँच सदस्यीय समितिमा कार्यकाल बाँकी नै रहेका रोमनाथ घिमिरेले निरन्तरता पाएका छन्।

साधारणसभा सम्पन्न भएलगत्तै बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो। रिपब्लिक मिडियाका निवर्तमान अध्यक्ष विनोदराज ज्ञवालीले बदलिँदो परिस्थितिमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको र नयाँ नेतृत्वले यो मिडियालाई अगाडि बढाउने दृढता व्यक्त गरे।

मिडिया उद्योगमा चार दशकभन्दा लामो योगदान गरेका उनले पारदर्शिता, निष्पक्षता, प्रभावकारिता र विचारमार्फत नागरिकलाई सुसूचित गर्नुपर्ने बताए। यो उद्देश्यबाट मिडिया आजका दिनसम्म पनि कहीं कतै विचलित नभएको र अब पनि नहुने विश्वास उनले व्यक्त गरे।

आमसर्वसाधारणका माध्यमबाट मिडियाको नेतृत्व गराउने आफ्नो चाहना रहेको प्रस्ट पार्दै उनले सबै कुरामा नैतिक, पारदर्शिता र गुणस्तरीय पत्रकारितालाई आधारशिला बनाएर अगाडि बढ्दै जाने वाचासमेत गरेको बताए।

नयाँ नेतृत्वलाई मिडियाको जिम्मेवारी हस्तान्तरण गरेपछि उनलाई सञ्चालकहरूले दोसल्ला ओढाएर र माला लगाइदिएर आभार प्रकट गरेका थिए। उनले अध्यक्षता हस्तान्तरण गरेर नयाँ नेतृत्वलाई अगाडि बढ्न प्रेरित गरेको क्षणमा उपस्थित सेयरधनी र सञ्चालकहरूले उच्च सम्मान प्रकट गरेका थिए।

निवर्तमान अध्यक्ष ज्ञवालीले पहिले आफू कार्यरत संस्था छाडेर नेपाल रिपब्लिक मिडिया स्थापनाका गौरवपूर्ण दिनको चर्चासमेत गरे। त्यो बेला कार्यालयसमेत नहुँदा पाँचतारे होटलमा बसेर त्यहींबाट काम थालनी गरेको तथा पहिलो दिनबाटै सहकर्मीहरूलाई पारिश्रमिक दिएर अगाडि बढेको स्मरण उनले गरे। पछिल्ला वर्षहरूमा भूकम्प, नाकाबन्दी, कोभिड–१९ हुँदै जेनजी आन्दोलनसम्मको कठिन परिस्थिति आउँदा पनि हिम्मत नहारी मुलुकको दायित्व सम्झेर आफू मिडियामा क्रियाशील भएको उनले बताए।

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले मिलेर अगाडि बढ्दा नै उपलब्धि हासिल हुने र आगामी दिन पनि उज्ज्वल हुने विश्वास व्यक्त गरिन्। उनले साधारणसभा र सञ्चालक समितिले आफूलाई दिएको विश्वास गुम्न नदिने बताइन्। नेपाल रिपब्लिक मिडिया एउटा संस्था मात्र नभई समाजप्रतिको उत्तरदायित्व बोकेको सार्वजनिक संस्था रहेको उनले बताइन्।

समाजको अपेक्षा र राष्ट्रको हितलाई केन्द्रमा राखेर नेतृत्व अगाडि बढ्ने प्रतिबद्धता उनले गरिन्। प्राप्त जिम्मेवारीलाई नम्रता, दृढता र पूर्ण प्रतिबद्धताका साथ बहन गर्ने तथा संस्थाको विश्वसनीयतालाई अझै बजबुद मनाएर अगाघि बढ्ने उनले बताइन्।

प्रकाशित: १ माघ २०८२ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App