२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सम्पर्कविहीन निर्मल पुर्जाको जीपीएस लोकेसन समुद्री सतहदेखि ५,८७८.६७ मिटर उचाइमा

पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल पुर्जाको अन्तिम जीपीएस लोकेसन सार्वजनिक भएको छ।

पुर्जाका व्यावसायिक साझेदार मिङ्मा डेभिडका अनुसार गार्मिन स्याटेलाइट ट्र्याकिङ प्रणालीबाट प्राप्त पछिल्लो संकेतले पुर्जा समुद्री सतहदेखि ५,८७८.६७ मिटर उचाइमा रहेको देखाएको छ। अद्यावधिक भएको विवरणमा उनीहरूको स्थान स्थिर रहेको उल्लेख गरिएको छ।  

प्राविधिक विवरणअनुसार जीपीएसले कुनै हिँडडुल नदेखाएकोले टोली प्रतिकूल मौसम, हिमपहिरोको असर वा अन्य कठिन परिस्थितिका कारण एकै स्थानमा रोकिएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, उनीहरूको वास्तविक अवस्था भने अझै पुष्टि हुन सकेको छैन।

यसैबीच, प्रयोग गरिएको स्याटेलाइट ट्र्याकिङ उपकरणको ब्याट्री निकै कम रहेको जनाइएको छ। ब्याट्री सकिएमा आगामी समयमा नयाँ लोकेसन प्राप्त गर्न कठिन हुन सक्ने भएकाले उद्धार तथा खोजी कार्यमा चुनौती थपिएको छ।

विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान कायम गरिसकेका पुर्जा ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोपछि आफ्नो टोलीसहित सम्पर्कविहीन भएका हुन्। सम्बन्धित निकायहरूले उनीहरूको खोजी तथा उद्धार प्रयास जारी राखेको बताएका छन्।

प्रकाशित: १५ श्रावण २०८३ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App