बजारमा लेबलविहीन, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको बिक्री–वितरण बढिरहेको भन्दै सरकारले त्यस्ता गतिविधिमा संलग्न व्यवसायीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३–८४ जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको हो।
विभागका अनुसार भौतिक बजारसँगै विभिन्न डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत पनि दैनिक उपभोग्य खाद्यवस्तु, पेय पदार्थ तथा लत्ताकपडालगायतका सामग्री अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासो बढेकाले मन्त्रालय र विभागले यस विषयलाई गम्भीर रूपमा लिएको छ।
जारी सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै मिसावट गर्ने, चोरी पैठारीका सामान बिक्री गर्ने तथा न्यून गुणस्तरका वस्तु बजारमा ल्याउने कार्य कानुनअनुसार दण्डनीय र अक्षम्य अपराध भएको उल्लेख गरिएको छ।
मन्त्रालयको स्वच्छ र व्यवस्थित बजार कायम गर्ने नीतिअनुसार विभागले उत्पादन, पैठारी, ढुवानी, भण्डारण तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले निर्धारण गरेका दायित्व, सर्त तथा बन्देजहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
साथै, बजार अनुगमनलाई अझ प्रभावकारी र तीव्र बनाइने जनाउँदै विभागले उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने तथा कानुन उल्लंघन गर्ने जोसुकै व्यवसायीलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कडा कारबाही गरिने चेतावनी दिएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १५:०७ सोमबार





