सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा उखु किसान मारमा परेका छन्।
उखु क्रसिङ सिजन सुरु हुन लागेपनी सरकारले मूल्य तोक्न नसकेको कारण किसानहरूले आफ्नो उत्पादन खाडसारी (सख्खर) उद्योगलाई गत वर्षकै मूल्यमा सस्तोमा बिक्री गर्न बाध्य भएका हुन्।
हिन्दुहरूको महान् पर्व छठ नजिकिँदै जाँदा पूजाको महा प्रसादका रूपमा सख्खरको प्रयोग हुन्छ। बजारमा सख्खरको माग बढेसँगै खाडसारी उद्योगहरूले उखु पेल्न सुरु गरेका छन्।
तर, सख्खरको बजार मूल्य बढे पनि उखुको मूल्य भने गत वर्षकै मूल्यमा कायम रहेको किसानहरूको गुनासो छ।
उखुलाई नगदे बालीका रूपमा चिनिए पनि उत्पादनको उचित मूल्य नपाउँदा किसानले लागतअनुसारको प्रतिफल पाउन सकेका छैनन्।
सरकारले समयमै मूल्य निर्धारण नगर्दा किसानहरू उद्योग सञ्चालकले तोकेको मूल्यमा उखु बेच्नुपर्ने बाध्यतामा रहेको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए।
गत वर्षको तुलनामा यस वर्ष उखु खेतीको लागत झन्डै दोब्बरले बढेको संघका अध्यक्ष यादवले सुनाए।
इन्धनको मूल्य डेढ गुणासम्म बढेको, मलखादको मूल्य दोब्बर भएको तथा खेत जोताइको खर्चसमेत दोब्बरले वृद्धि भएको तर उखुको मूल्य ज्युकात्यु रहेको उनको भनाइ छ।
त्यसैगरी, बीउ, सिँचाइ, मजदुरको ज्याला र चिनी उद्योगसम्म उखु ढुवानी गर्ने खर्च पनि बढेको छ। उत्पादन लागतमा भएको वृद्धिलाई ध्यानमा राख्दै यस वर्ष उखुको मूल्य गत वर्षको तुलनामा दोब्बर हुनुपर्ने किसान प्रतिनिधिहरूको माग छ।
उखुको मूल्य निर्धारणका लागि सरकारी टोलीले अध्ययन गरेर फर्किसकेको भए पनि क्रसिङ सिजन सुरु हुने समयसम्म मूल्य नतोकिएको उखु किसान अगुवा कामेश्वर सहनीले बताए।
किसानको उत्पादन लागत, चिनी तथा सख्खरको बजार मूल्यलाई मध्यनजर गरेर मूल्य निर्धारण गर्ने भनिए पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको सहनिको भनाइ छ।
यता, छठ पर्वका लागि सख्खरको माग बढेपछि खाडसारी उद्योगहरूले उखु खरिद गर्न थालेका छन्।
बजारमा सख्खरको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म रहे पनि किसानले उखुको उचित मूल्य पाउन नसकेको गढीमाई नगरपालिका–४, पर्साका किसान राजन ठाकुरले बताए।
खुटी उखु खेतमै राखिरहँदा सुक्ने जोखिम हुने र खेत खाली गरेपछि दलहन तथा तेलहन बाली लगाउन सहज हुने भएकाले किसानले बाध्य भएर सस्तो मूल्यमा उखु बिक्री गरिरहेको ठाकुरले बताए।
अर्का उखु किसान सन्तोष पटेलका अनुसार खेतमा उखु सुक्न थालेको र उद्योग नियमित रूपमा सञ्चालन हुने सुनिश्चितता नभएकाले उनले खुटी उखु प्रतिक्विन्टल ५०० रुपैयाँका दरले सख्खर उद्योगलाई बिक्री गर्नुपरेको छ।
समयमै उखु बिक्री नगर्दा उत्पादनमा थप क्षति हुने जोखिमका कारण किसानले न्यून मूल्य स्वीकार गर्नुपरेको उनको भनाइ छ।
गढीमाई नगरपालिकाका सख्खर उद्योग सञ्चालक शिवमंगल दासले छठ पर्वका कारण सख्खरको माग बढेको र सरकारले उखुको मूल्य निर्धारण नगरेको अवस्थामा सुरुवाती चरणमा गत वर्षकै मूल्यमा उखु खरिद गरिरहेको बताए।
उत्पादनको लागत निरन्तर बढिरहेको अवस्थामा सरकारले समयमै समर्थन मूल्य निर्धारण नगर्दा किसान र उद्योगबिचको मूल्यमा असन्तुलन देखिएको छ।
छठ पर्वका कारण सख्खरको बजारमा माग बढे पनि उखु उत्पादक किसानसम्म उचित मूल्य पुग्न नसकेको किसानको दुखेसो छ।
सरकारले समयमै उखुको मूल्य निर्धारण नगरे किसानले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था आउन सक्ने भन्दै किसानहरूले मूल्य निर्धारण प्रक्रिया तत्काल टुंग्याउन माग गरेका छन्।
प्रकाशित: १० कार्तिक २०८३ १८:४३ मंगलबार


-600x400.jpg)


-600x400.jpg)