१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
अपराध

काठमाडौंमा चोरी गर्दै हिँड्ने बिहारका चार जना पक्राउ

काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूले यही कात्तिक ७ गते काठमाडौंको कलङ्कीस्थित तासिङडोल मार्गमा बस्ने उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गरेको अनुसन्धानबाट खुलेको हो।

उनले भने, ‘घर तथा फ्ल्याटमा कोही नभएको मौका छोपेर ढोकाको ताला फोडी नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरेका छौँ।’

प्रहरीका अनुसार पक्राउ परेकाहरूले यही कात्तिक ६ गते बिहान कलङ्कीको रञ्जित कोलोनीस्थित नीरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको छ।

लगातार दुई दिन फरक–फरक घरमा चोरीका घटना भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा चोरीका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका सुन तथा चाँदीका गरगहना र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १० कार्तिक २०८३ १९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App