२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण, विद्युतीय चुल्हो खरिदमा अनुदानको माग

देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव, अनियमित आपूर्ति तथा उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति गैरसरकारी संस्था महासंघ नेपालले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

महासंघले खाना पकाउने ग्यास नागरिकको आधारभूत आवश्यकता भएकाले यसको सहज आपूर्ति हुन नसक्नु सामान्य बजार समस्या मात्र नभई राज्यको आपूर्ति व्यवस्थापन, बजार नियमन र नागरिकप्रतिको जवाफदेहितासँग जोडिएको गम्भीर विषय भएको जनाएको छ।

महासंघका अध्यक्ष अर्जुन भट्टराई र महासचिव देवी खड्काद्वारा जारी विज्ञप्तिमा ग्यास खरिदका लागि घण्टौँ लाइन बस्नुपर्ने, महँगो मूल्य तिर्नुपर्ने तथा कृत्रिम अभाव र कालोबजारीको आशंका बढ्ने अवस्थाले आम नागरिकलाई थप पीडा दिएको ठहर छ।

महासंघले तत्काल ग्यासको अभाव समाधान गरी देशभर नियमित, पर्याप्त र सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि तथा वितरणमा हुने अनियमितताको प्रभावकारी अनुगमन र नियन्त्रण गर्न आग्रह गरेको छ।

उपभोक्ताले तोकिएको मूल्यमा सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन तथा आपूर्ति व्यवस्थामा देखिएको समस्याको वास्तविक कारण पहिचान गरी दीर्घकालीन र दिगो समाधानको नीति अवलम्बन गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

वैकल्पिक खाना पकाउने ऊर्जालाई प्रवर्द्धन गर्न बिजुलीको बिलमा लगाइएको भ्याट हटाउन र विद्युतीय चुल्हो तथा इन्डक्सन खरिदमा अनुदान उपलब्ध गराउनुपर्ने महासंघको माग छ। अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा संलग्न सरकारी निकायलाई थप जवाफदेही र जिम्मेवार बनाउनसमेत उसले आग्रह गरेको छ।

 नागरिकको सहज जीवनयापन, उपभोक्ता अधिकार र सामाजिक न्यायका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित: २ भाद्र २०८३ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App