जेन–जी आन्दोलनको क्रममा जलेका सवारी साधन र नष्ट भएका भौतिक संरचनाको विवरण संकलन गर्न मन्त्रालयहरूले सुरु गरेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग र विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा भएका क्षतिको विवरण संकलन गर्न मन्त्रालयका सहसचिव तथा सडक विभागका सम्भार महाशाखाका प्रमुख श्याम खड्काको संयोजकत्वमा विवरण संकलन समिति गठन भएको छ ।
उक्त समितिमा नौ जना सदस्य रहेका छन् । ‘हामीले आइतबारबाटै काम गर्न सुरु गरेका छौं । ३/४ दिनभित्र सबै काम पूरा गर्छौ’, खड्काले भने । उनका अनुसार जेनजी आन्दोलनको क्रममा देशभरि सडक डिभिजन तथा आयोजना कार्यालयहरूमा क्षति भएको छ भने सयौं सरकारी गाडी ध्वस्त भएका छन् ।
आन्दोलनबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनमै सामान्य क्षति भएको छ । यसैगरी बबरमहलस्थित सडक विभगको मुख्य कार्यालयमा ठूलो नोक्सानी भएको छ । दुई वर्षअघि मात्र डेढ करोड रुपैयाँ खर्च गरेर विभागको मुख्य कार्यालयको पुनर्निर्माण गरिएको थियो । यतिबेला विभागको परिसरभरि जलाइएका गाडी यत्रतत्र देख्न सकिन्छ । मुख्य कार्यालयका अधिकांश कोठा नराम्रोसँग जलेका छन् । केही थोरै कोठा मात्र काम लाग्न सक्छन् ।
यही साताभित्र विभागको केन्द्रीय कार्यालय पाटन ढोका चाकुपाटमा सर्ने भएको छ । विभागका अनुसार विभागको केन्द्रीय कार्यालय तथा जिल्लामा रहेका डिभिजन कार्यालय तथा आयोजना कार्यालयहरूमा क्षति भए पनि विभागले देशभर सडक निर्माण र सम्भारको काम जारी राखेको छ । ‘क्षति र तोडफोडको कारण हाम्रो काम काहीं रोकिएको छैन । सडक निर्माण र मर्मत सम्भारको काम जारी छ’ विभागका एक कर्मचारीले भने ।
यसैगरी सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने भएको छ । मन्त्रालयमा भएको क्षतिबारे बुझ्न मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठक बसेको थियो ।
उक्त बैठकले गत मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको बारेमा विवरण संकलन गर्ने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएको बताए । उनका अनुसार मन्त्रालयका केही गाडीहरू तोडफोड भएका तथा कार्यालयका कम्प्युटरलगायत समान चोरी भएका छन् । बाँकी क्षतिको विवरण संकलन भइरहेको मैनालीले जानकारी गराए ।
जेन–जी आन्दोलनले सहरी विकास मन्त्रालयको भवनमा साामान्य क्षति भएको छ तर मन्त्रालयका समान चोरी भएको मन्त्रालयका कर्मचारीले जनाएका छन् । ‘दर्जनौँ गाडी जलेर सबै नष्ट भएका छन् । सवारी साधन जलेपछि मन्त्रालयका उच्च कर्मचारी समेत हिँडेरै कार्यालय पुगेका छन्’, एक कर्मचारीले भने ।
मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागमा आगलागीका कारण ६० प्रतिशत जलेका छन् । अब कहाँ बसेर काम गर्ने भन्ने विषयमा मन्त्रालयका कर्मचारी अन्यौलमा छन् । मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले भैसेपाटीस्थित नयाँ मन्त्री क्वार्टरको रेखदेख र व्यवस्थापन गर्दै आएको छ ।
नयाँ मन्त्री क्वार्टरमा पनि जेन-जी आन्दोलनले क्षति पुर्याएको छ । नयाँ मन्त्री क्वार्टरमा पनि सकारी गाडी जलाइएका छन् । मन्त्रालयले मन्त्री क्वार्टरमा भएको क्षतिको विवरण पनि संकलन गर्ने भएको छ ।
यसैबिच, भवन विभागका कर्मचारीले शनिबार विहानैदेखि विभागमा सरसफाइ गरेका थिए । सहरी र भौतिक पूर्वाधार मन्त्रालयबाहेक अन्य मन्त्रालयले पनि जेन-जी आन्दोलनको त्रममा भएको क्षतिको विवरण संकलन गर्न सुरु गरेका छन् ।
प्रकाशित: ३१ भाद्र २०८२ ०९:३० मंगलबार





