गोदावरी नगरपालिका-२ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय थालेका छन्। उनी नेपाली सेनामा थिए। अवकाश पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गरे। उनी यतिबेला स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त छन्।
साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय थालेका हुन्। उनले वार्षिक तीन लाख ६० हजार रूपैयाँको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडामा लिएका छन्। गोठ निर्माण र भैँसी खरिदमा २६ लाख रूपैयाँ खर्च भएको साउदले बताए।
मासिक एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खर्च कटाएर ६० हजार रूपैयाँ फाइदा हुने गरेको साउदको भनाइ छ।
उनले भने, “भैँसीपालन गर्न कामदार राखेको छैन, आफैं खटिने गरेको छु, बचत राम्रै भइरहेको छ।”
प्रतिलिटर ९० का दरले उनले दैनिक ४० लिटर दूध बेच्छन्। ग्राहकलाई दूध पुर्याउनै नसकेको साउदले बताए।
साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन्। भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसाय विस्तार गर्ने योजना रहेको उनको भनाइ छ। भैंसीको आहारको जोहो नभएकाले अहिले केही भैंसीबाट व्यवासाय सुरु गरेको साउदले बताए।
विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःख सम्झिंदै स्वदेशमै भैँसीपालन थालेका हुन्।
“नेपालीले विदेशमा धेरै दुःखका साथ काम गर्छन् , नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशिएका हुन्छन् तर पुगेपछि भने अनुसार काम र तलब हुँदैन, दुःखकष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भने।
विदेशमा माटोको उर्वराशक्ति न्यून भएका देशमा बाहिरबाट कन्टेनरमा माटो आयात गरेर खेतीयोग्य जमिन बनाई कृषि कार्य गर्ने गरेको साउदले बताए।
“हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि कार्यका लागि धेरै चिज छ, हामीसँग घाँस छँदैछ, माटोको उर्वराशक्ति राम्रै छ, यहाँ जे गरे पनि उत्पादन राम्रै हुन्छ,” उनले भने, “त्यही भएर पनि आफूले भैँसीपालन व्यवसाय अँगालेको हुँ।”
हिजोआज धेरैजसो व्यक्ति कमाउन विदेश पलायन भइरहेका बेला साउद भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गर्दै छन्। “गर्न जान्यो भने आफ्नै देशमै केही हुन्छ भन्ने उदाहरण दिँदै छु। परिवारको खर्च यसैबाट टरेको छ”, उनले भने, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीहरूसँगै बसेर रमाउन र कमाउन पाइएको छ। यो नै खुसीको कुरा हो।”
पछिल्लो समय कैलालीमा भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। यसको विकास र विस्तारका लागि सरकारले अनुदानका साथै सहुलियतमा ऋण उपलब्ध गराए धेरै सहज हुने उनको भनाइ छ। लगतै गड्याैला मल उत्पादन व्यवसाय सञ्चालन गरेर बजारमा बिक्री गर्ने समेत योजना रहेको साउदले बताए।
प्रकाशित: १६ भाद्र २०८२ १२:१७ सोमबार





