पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
आइतबार बिहानदेखि अवरुद्ध बनेको राजमार्ग दिउँसो २:१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
यसअघि दिउँसो १२ बजे पहिरो पन्छाएर एकतर्फी मात्र सवारी साधन पास गराइएको थियो। सडक दुईतर्फी खुलेपछि लामो समयदेखि जाममा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिए।
पहिरो पन्छाउन भने निकै चुनौती भएको थियो। नौबिसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी एवम् इन्जिनियर सचिन्द्र मिश्रका अनुसार सडकभन्दा करिब ३५ मिटर माथिबाट लगातार सुक्खा पहिरो खसिरहेकाले सफा गर्न कठिन भएको थियो।
सडक विस्तारका क्रममा भित्तो नकाटिएको ठाउँ भए पनि कमजोर भूबनोटका कारण आफैं पहिरो खसेको इन्जिनियर मिश्रले बताए।
सडक दुईतर्फी खुलाइए पनि सो स्थान कमजोर रहेकाले जुनसुकै बेला फेरि पहिरो खस्न सक्ने जोखिम कायमै रहेको आयोजनाले जनाएको छ।
प्रकाशित: २२ कार्तिक २०८३ १६:१४ आइतबार





