२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

यमपञ्चकको तेस्रो दिन आज घरको बफादार पहरेदारका रूपमा रहने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। तिथिको घटबढका कारण आजै साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासहित घरघरमा दीपावली गरिँदै छ।

धार्मिक विश्वासअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खाना दिए यमलोकको यात्रा सहज हुने मानिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यमराजको मूलढोकामा पहरेदारका रूपमा बस्ने श्याम र सबल नामका दुई कुकुरले बाटो छोडिदिने मान्यता छ।

आधुनिक वैज्ञानिक मान्यताअनुसार पनि घरमा कुकुर पाल्दा मुटु र मधुमेहजस्ता रोगको जोखिम कम हुने गर्दछ।

तिहारको तेस्रो दिन आज बिहानै नजिकको नदी, ताल, पोखरी वा धारामा गई स्नान गरेर नरक चतुर्दशी मनाइएको छ। स्नानपछि बत्ती बालेर दक्षिणतर्फ फर्काई बगाइएको थियो, जसलाई ‘नरक बगाउने’ भनिन्छ। त्यसपछि नित्य कर्म सकेर कुकुरलाई पूजाआजा गरिएको थियो।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सह-प्रा.डा. पुरुषोत्तम भट्टराईका अनुसार तिथिको घटबढले गर्दा आजै साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाको तयारी भइरहेको छ।

यस वर्षको तिहार गत शुक्रबार नयाँ भाँडाकुँडा किनेर धनतेरस पर्व मनाएसँगै सुरु भएको थियो। शनिबार सन्देशवाहकका रूपमा कागको पूजा गर्नुका साथै आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती मनाइएको थियो।

समितिका अनुसार भोलि सोमबार गाई पूजा गरिँदै छ। त्यसैगरी मङ्गलबार गोवर्धन पूजा, हली तिहार, बली पूजा र गोरु पूजा परेको छ।

तिहारको मुख्य दिन कात्तिक २५ गते बुधबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि यमपञ्चक औपचारिक रूपमा समापन हुनेछ। यस वर्ष भाइटीकाको सबैभन्दा उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११:०७ बजे रहेको समितिले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App