२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

फाइल तस्बिर

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्। ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेटदेखि ब्युरोभित्रै छन्। 

शिवाकोटीले कानुन व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको छ। शिवाकोटीले दुई घण्टादेखि आफू साइबर ब्युरोमै रहेको र सोधपुछको काम भइरहेको बताए। 

साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका आधारमा सोधपुछ गर्न बोलाएको हो। दुवैसँग छुट्टाछुट्टै सोधपुछ भएको ब्युरो स्रोतले बताएको छ। 

स्रोतका अनुसार सहमतिको प्रयास भइरहेको छ। शिवाकोटीले प्रतिपक्ष दलको नेताका हैसियतमा सरकारले गरेका कामका बारेमा प्रश्न उठाउँदै आएका छन्। सो क्रममा पत्रकार खड्का पनि जोडिएपछि उनले साइबर ब्युरोमा उजुरी दिएका हुन्। 

शिवाकोटीले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए। 

शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन्। 

उनले बिचौलिया भनिएका इनम सापकोटा र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनका बारेमा समेत पनि स्पष्ट पारेका छन्। 

यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो। उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए। 

त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौँ फर्केका थिए। यसको जानकारी सर्वत्र भए पनि प्रहरीले कुनै सम्पर्क गरेन। तर चाडबाडका बेलामा लक्ष्मी पूजा गर्ने बेलामा साइबर ब्युरोले कार्यालयमा बोलाएको हो।

प्रकाशित: २२ कार्तिक २०८३ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App