‘जेन–जी’आन्दोलनको आडमा नेपालगन्जका सरकारी कार्यालय आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त कार्यमा संलग्न रहेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) दीपक पातलीले पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताए ।
पाठकले नेपालगगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायतविभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ । आन्दोलनको आडमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान गरेर पक्राउ गरिने उनले बताए । ‘अहिलेसम्म दुईजना पक्राउ परिसकेका छन्, अन्य ब्यक्तिको पनि पहिचान गरेर पक्राउ गर्नेछौं,’ डिएसपी पातलीले भने ।
आन्दोलनको आडमा नेपालगन्ज र कोहलपुरमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।
प्रकाशित: ३१ भाद्र २०८२ १९:१० मंगलबार





