जेन-जीको पोखरामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा मूठमेड सिर्जना भएको छ । काठमाडौंमा भएको प्रदर्शनका क्रममा घाइते भएका जेन-जी प्रदर्शनकारीको मृत्यु भएको खबरले आक्रोशित पोखरेली जेन-जी प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा मुठभेड भएको हो ।
सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध पोखरामा हजारौँ सहभागी जेन-जी समूह सभागृह चोकबाट न्यूरोड, चिप्लेढुंगा, मानवअधिकार चोक, सिद्दार्थचोक, बगालेटोल, सिर्जना चोक, सिमलचौरहुँदै राष्ट्र बैंकचोक पुगेका थिए । त्यहाँ पुगेपछि प्रदर्शनकारीले काठमाडौंमा आफ्ना जेन-जी प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको थाहा पाएपछि आक्रोशित हुँदै मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढ्यो । तर प्रहरीले अगाडि बढ्न नदिएपछि दुई पक्षबिच झडपको अवस्था सिर्जना भयो । त्यही समय उग्र बनेका जेन-जी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा तोडफोडको प्रयास गरे । सो क्रममा मुख्यमन्त्री कार्यालयको झ्यालको सिसा फुटेको छ ।
त्यसपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्याँस र रबरको गोली प्रहार ग¥यो । प्रहरीले प्रदर्शनकारीलाई ताकेरै रबरको गोली र अश्रुग्याँस प्रहार गर्दा एक जना घाइते भएका छन् । मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर पोखरा–१७ विरौटाका २८ विनेस गुरुङ घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । घाइते गुरुङ होसमा छन् भने सामान्य रुपमा कुराकानी गर्न सक्छन् । मुख्यमन्त्री कार्यालय अगाडि साथीसँग बाइकको पछाडि बसेर पुगेका थिए । त्यहिबेला प्रहरीले हानेको रबरको गोली लागेको प्रत्यक्षदर्शी सुवास अम्गाईंले जानकारी दिए ।
यसैबिच, घाइते गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका अध्यक्ष यदु अधिकारीले भेटेका छन् । गुरुङ उपचाररत जिएमसी अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
जेन-जी प्रदर्शनकारीले वन मन्त्रालयको गाडी पनि तोडफोड गरेका छन् । गण्डकी प्रदेश उद्योग तथा वन मन्त्रालयको बा.२ झ.४२२ नम्बरको गाडी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अग्रभाग र बिचको भाग कुच्चिएको छ भने गाडी स्टार्ट नै नहुने भएको छ । नजिकै अर्को म.प्र०३७०१क २२९० नम्बरको खाना पकाउने एलपी ग्यास बोकेको ट्रकको चाबीसमेत प्रदर्शनकारीले खोसेका छन् । जसले गर्दा दुबै गाडी सडकमा बेवारिसे हुँदा सो बाटो भएर रत्नचोक निस्कने र मुख्यमन्त्री कार्यालय जाने बाटो अवरुद्ध छ ।
यसअघि प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्द नाराबाजी गरेका थिए । उनीहरुले ‘केपी तेरो पाराले ! दुःख पाए साराले’, ‘केपी चोर, देश छोड’, ‘भ्रष्टाचारी सरकार चाहिँदैन, कर लुट्न पाइँदैन’लगायतका नाराहरू लगाए । त्यस्तै, प्रदर्शनकारीहरूले ‘जनता जति खाडीमा, नेताचाहिँ गाडीमा ?, ‘दुःखी जनता कमाउने, भ्रष्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘ईनफ ईज ईनफ’लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए ।
जेन-जी प्रदर्शनमा सहभागी आकाश पौडेलले भ्रष्टाचार र लुटतन्त्रबिरुद्द प्रदर्शन गरिएको बताए । हामीले सहनसम्म सहयौं,उनले आक्रोश व्यक्त गर्दै भने,‘तर अझै पनि लुट्न छाडेनन् । यही लुटतन्त्रबिरुद्द हाम्रो प्रदर्शन हो ।’ उनले जनतालाई सचेत बनाउन पनि प्रदर्शनको उद्देश्य रहेको बताए । भ्रष्टाचारी नेतालाई नै हामी बारम्बार भोट हालेर जिताइरहेका छौँ,उनले भने,‘प्रदर्शनले भ्रष्टाचारीलाई भोट हाल्नेले पनि थाहा पाओस् र सहभागी जेन-जीले घरमा गएर आ–आफ्नो घरमा गएर बाआमालाई भ्रष्टाचारी नेतालाई भोट नहाल्न आग्रह गरोस् ।’
प्रदर्शनको भीडमा सहभागी एक जेन-जीले भ्रष्टाचार र लुटतन्त्रले थल थलिएको वर्तमान अवस्थाप्रति जेन-जीको फ्रष्टेसन ओकलिएको बताए । प्रदर्शनमा सहभागीको भीडबाट उनी भन्दै थिए,‘नेता लुटिरहन्छ, सरकार भ्रष्टाचारमा लिप्त छ । उल्टै हामीले चलाउने सामाजिक सञ्जाल बन्द गराउने ? ।’
पोखरामा पनि निषेधाज्ञा
जेन–जीको प्रदर्शन उग्र बनेपछि पोखरामा निषेधाज्ञा लगाइएको छ । जेन-जी प्रदर्शन उग्र बनेर तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिउँसो २ बजेबाट अनिश्चितकालीन पोखरामा निषेधाज्ञा लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्माले सोमबार दिउँसो जारी गरेको सूचनामा मुख्यमन्त्री कार्यालय रहेको पोखराको शहिदचोक आसपासका क्षेत्रदेखि पूर्वतर्फ वाईचोक, (उत्तरतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट(वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैङ्क चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड) क्षेत्रमा कफ्र्यू लागु हुने उल्लेख छ ।
प्रशासनले जेन–जी प्रदर्शनका कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गरेर कफ्र्यू लगाएको जनाएको छ । कफ्र्यू अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
प्रकाशित: २३ भाद्र २०८२ १८:२६ सोमबार





