इटहरी उपमहानगरपालिका–१४ का ४० वर्षीय मोहन सरदार डकर्मीकाे काम गर्थे। कामकाे सिलसिलामा खुट्टामा चोट लाग्दा साेमबार उपचारका लागि सामुदायिक अस्पताल गएका थिए। त्यो दिन जेन-जीको आन्दोलन पनि प्रारम्भ भयो। त्यही आन्दोलनका क्रममा गोली लागेर माेहनकाे मृत्यु हुनपुग्यो। सामुदायिक अस्पताल इलाका प्रहरी कार्यालयभन्दा ठिक अगाडि पट्टी छ।
मृतक मोहनका दुई वटा साना छोरी छन्, सात वर्षकी आरोगी र पाँच वर्षकी आकृति। उपचार गर्न गएका पतिको मृत्युको खबर सुनेदेखि उनकी पत्नी मञ्जु विक्षिप्त छन् । उनलाई छोरीहरूले खोइ बाबा भनेर प्रश्न सोध्दा नाजवाफ हुन्छिन् र एकोहोरो रुन थाल्छिन्। उनी बेला बेलामा सम्हालिँदै बोल्छिन् ।
मोहन डकर्मीकै काम गरेर घर व्यवहार धान्दै आएका थिए। मञ्जु दुई वर्षअघि कुबेत गएर एउटा सामान्य घर बनाएकी थिइन्। जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो। अब भने समस्या निम्तिएको छ । मञ्जु कुवेतबाट घर बिदामा आएकी थिइन् । उनी फेरि कुबेत जाने तय भदौ २६ गते (बिहीबार) तय भएको थियो। तर, अब उनको कुबेत गएर पैसा कमाउने सपना पनि तुहिएको छ। ‘अब मैले छोरीहरूलाई कसरी पाल्नु ?’ मञ्जुकाे दुखेसाे छ।
मञ्जुको दयनीय अवस्था देखेर नागरिक समाज इटहरीका पूर्व अध्यक्ष राजेश श्रेष्ठ, बालिका खड्का भट्टराई, अहिलेका अध्यक्ष आरके राईलगायतले घरमै पुगेर आर्थिक सहयोग पनि गरेका छन् । मृतक मोहनको शव यति बेला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शव छिटो ल्याउने व्यवस्था मिलाई दिन मोहनका आफन्तले नागरिक समाज इटहरीसँग आग्रह समेत गरेका छन्।
युवा पुस्ता जेन-जीको आन्दोलनको पहिलो दिन सोमबार इटहरीमा दुई जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर मृत्यु हुनेमा इनरुवा वडा नं. ६ घर भई आफन्तको घरमा इटहरी बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठ हुन् । उनी इटहरीकै बरगर हाउस फोटो सेन्टरमा काम गर्थे । उनी आन्दोलनमा गएका घर परिवारमा पत्तै थिएन । तर, राति उनकै ठूलोबुबाका छोरामार्फत मृत्यु भएको खबर थाहा पाएको इटहरी वडा नं. ५ घर भएका ठूलोबुवा टीकाबहादुर श्रेष्ठले बताए ।

आफन्तबाट सूचना पाएर सोमबार राति ११ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा गएर हेर्दा आफ्नै भतिजो भएको पत्ता लागेको उनले बताए । ‘प्रहरीले त भोलिपल्ट बिहान मात्र तपाईँको भतिजको बारेमा डिटेल भन्न प¥यो भन्दै फोन गरेको थियो,’ उनले भने, ‘जेन-जी पनि दुई दिनपछि बोलाएर मात्र घर आइ पुगे ।’ मृतक श्रेष्ठ पनि विदेश जाने तयारीमा थिए । उनका बबु प्रदिप श्रेष्ठ दुबईमै छन् । छोराको मृत्युपछि फर्कने तयारीमा रहेका छन् ।
छोरा अभिषेकको मृत्युले आमा सुष्मा मानसिक रूपमा विक्षिप्त छन् । जेन-जीको आन्दोलनमा मृत्यु भएका अभिषेकका आफन्त मृतक र घाइते परिवारलाई अब बन्ने सरकारले क्षतिपूर्ति नभई सम्मान दिनुपर्ने बताए । ‘जे नहुनु भयो, अब आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति होइन, सम्मान दिनुपर्छ,’ उनले भने, ‘इटहरीमै दुई जनाको मृत्यु भएको छ । दुवै जनाको सम्मानमा सालिक निर्माण गर्दा हामीप्रति न्याय हुन्छ ।’ उनले आफ्नो भतिजलाई नाकमा ताकेरै गोली हानेकाले गर्दा त्यसरी गोली हान्नेको पहिचान गरी कारबाही समेत हुनुपर्ने बताए । उनका अनुसार यदि कम्मरभन्दा मुनी गोली हानेको भए अपाङ्ग नै भएर पनि भतिज बाँच्ने थिए होला!
अभिषेकको पनि छिटो गरेर शव ल्याउन व्यवस्था मिलाई दिन नागरिक समाजसमक्ष आग्रह गरेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार सुरक्षाको जिम्मा सेनाले लिएकाले गर्दा आफू ‘क्लियर’ नभएको बताए ।
प्रकाशित: २७ भाद्र २०८२ १६:४३ शुक्रबार





