रौतहटको गौर नगरपालिका-६ सबगढामा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
गत फागुन ९ गते भएको उक्त हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धानको क्रममा सोमबार थप दुई जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा शुभ नारायण शाह र समिर मियाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रो तथा आगजनी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
योसँगै सबगढा काण्डमा पक्राउ पर्ने र मुद्दा चल्नेको संख्या २० पुगेको छ। प्रहरीले नियन्त्रणमा लिएका २० जनालाई नै अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी बस्यालले जानकारी दिए।
फागुन ९ गते सबगढा क्षेत्रमा दुई पक्षबीच विवाद हुँदा तोडफोड र आगजनीको घटना भएको थियो। सो घटनापछि प्रहरीले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।
प्रकाशित: ११ फाल्गुन २०८२ १९:२६ सोमबार





