खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
निगमका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा आज (शनिबार) काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ।
निगमले सूचना जारी गर्दै काठमाडौंको टेकुस्थित निगम परिसर, यातायात कार्यालय परिसर चावहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी बसुन्धरा परिसर तथा पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट ग्यास बिक्री गर्ने जनाएको छ।
उक्त बिक्री केन्द्रहरूमा नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री हिमाल, एपी, श्रीमाया, श्रीकृष्ण, साइवावा, ओम, भानु, एसटीसी, लोकप्रिय र सूर्यलगायत विभिन्न ब्रान्डका ग्यास उपलब्ध हुने निगमले जनाएको छ।
निगमका अनुसार ग्यास खरिद गर्न अति आवश्यक भएका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर बिहान १० देखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित हुनुपर्नेछ।
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना बिक्रेतामार्फत नियमित रूपमा बिक्री वितरण गरिरहेको पनि स्पष्ट पारेको छ। निगमले त्यसकारण अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र उक्त बिक्री केन्द्रबाट ग्यास खरिद गर्न आग्रह गरेको छ।

प्रकाशित: ३० श्रावण २०८३ ०६:५६ शनिबार





