ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्। मेयर महर्जन जुम्लाको चन्दननाथ नगरपालिकामा मन्दिरको झल्को दिने मन्दिर निर्माणको उद्घाटनको लागि पुगेका हुन्।
जुम्लामा मेयर महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईँ, वडा नं.२८ का अध्यक्ष वीरेन्द्र महर्जन रहेका छन्।
उक्त नगरपालिकामा गणेश मन्दिर निर्माणको लागि महानगरले ३५ लाख रुपैयाँ सहयोग गरेको प्रमुख महर्जनले बताए। चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतका अनुसार मन्दिर १९ लाख ७५ हजारमा निर्माण सम्पन्न भएको हो। बाँकी रकम गेट मन्दिरको गेट बनाउनको लागि खर्च गरिने उनले जानकारी दिए।
महानगरका अनुसार गणेशको मूर्ति बनाउने ढुङ्गा खोकनाबाट ल्याएको थियो भने मन्दिर निर्माणका लागि ललितपुरकै कालिगढहरूलाई लगाएको थियो। गणेशको मन्दिर प्रतिस्थापन गरिएको उक्त मन्दिर चन्दननाथ नगरपालिकाको वडा नं.५ मा अवस्थित छ। चन्दननाथ नगरपालिकामा १० वटा वडा रहेका छन्।
ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच ३ वर्ष अघि भगिनी सम्बन्ध कायम भएको थियो। भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना कायम गर्दै आएको छ।
मेयर महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई सहयोग गर्नु जिम्मेवारी सम्झेर मन्दिर निर्माणमा सहयोग गरेको बताए। उनले भने, ‘भगिनी सम्बन्ध कायम भएपछि हामी मित भयौँ, अर्थात् हामी मित भयौँ, एउटा मितले अर्को मितलाई सहयोग गर्नु कर्तव्य हो।’ महर्जनले मितहरूबीच एक अर्कामा दुखसुख साझेदारी गर्ने हक भएको बताउँदै भगिनी सम्बन्ध भएका पालिकाहरूलाई महानगरले सम्पदा र वातावरणमैत्री परियोजनालाई सहयोग गर्दै आएको जानकारी दिए।
महानगर मेयर महर्जनका अनुसार ललितपुर महानगरको आकृति झल्कने संरचना निर्माणलाई प्राथमिकतामा राखेर महानगरले परियोजना दिँदै आएको छ। यस्ता परियोजनामा आगामी दिनमा पनि महानगरको सहयोग रहने महर्जनले प्रतिबद्धता जनाए।
नगरपालिकाका मेयर कठायतले दुर्गम जिल्लामा रहेको पालिकालाई उपत्यकाको सुगम र सम्पदायुक्त महानगरले सहयोग गरेकोमा धन्यवाद दिए। त्यस्तै नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले पनि महानगरलाई धन्यवाद दिँदै भविष्यमा यस्तै परियोजनामा योगदानको लागि अनुरोध गरिन्। त्यस्तै जुम्ला जिल्ला समन्वय समितिका सभापति गौरीनन्द आचार्यले पालिकाको विकासमा भगिनी सम्बन्ध कायम गरेर सम्पदा र वातावरण परियोजनामा महानगरले गरेको सहयोगको लागि धन्यवाद दिए।
ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएका पालिकाहरूमा सल्यानको शारदा नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका, गुल्मीको मालिका गाउँपालिका, सङ्खुवासभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका छन्। त्यस्तै महानगरको अन्तर्राष्ट्रिय स्तरमा कोरियाको चेओरवन शहर र रसियाको उलान उदे शहरसँग भगिनी सम्बन्ध कायम रहेको छ।
प्रकाशित: २८ आश्विन २०८२ १३:५६ मंगलबार



-600x400.jpg)

