मकवानपुरको मनहरीबाट साढे तीन किलोभन्दा बढी अवैध लागूऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर-६ रुपाचुरीका ३२ वर्षीय देवचन्द्र घलान रहेका छन्।
इलाका प्रहरी कार्यालय मनहरीबाट गस्तीमा खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो साढे २ बजे पक्राउ गरेको हो।
मनहरी गाउँपालिका-७ स्थित मनकामना सामुदायिक वन क्षेत्रको रुपाचुरी-मनहरी कच्ची सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा घलानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
शंका लागेर खानतलासी गर्दा उनको साथबाट तीनवटा पोकामा लुकाएर राखिएको प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार उक्त पदार्थको तौल ३ किलो ४७८ ग्राम रहेको पाइएको छ।
बरामद गरिएको लागूऔषधसहित पक्राउ परेका घलानमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यसका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थपको अनुमति लिइएको प्रहरीले बताएको छ।
प्रकाशित: ७ चैत्र २०८२ १७:४२ शनिबार





