त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालमा निधन हुनुअघि उनले आफ्ना दाइ मदन नेपालीसँग बोलेका केही शब्द अहिले परिवारका लागि अन्तिम सम्झना बनेका छन्।
अस्पतालले गरेको पत्रकार सम्मेलनमा मदन नेपाली भाइसँग भएको अन्तिम संवाद सुनाउँदै भावविह्वल बने।
उनका अनुसार अस्पताल पुग्दा गणेशले अलिअलि बोलेका थिए। गणेशले अन्तिमसम्म आफू निर्दोष रहेको दोहोर्याइरहेका थिए।
मदनले अस्पतालमा भाइसँग भएको कुराकानी सुनाउँदै भने, ‘उसले ‘दाइ मेरो गल्ती थिएन है, दाइ मेरो गल्ती थिएन है’ भनेर दुईचोटि भन्यो। मैले ‘कसको के भएको हो ?’ भनेँर सोधेँ। ‘मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लाउँदा–लाउँदै अनि ट्राफिक आएर ऊ गर्यो’ भन्यो।’ त्यसपछि भाइले अरु शब्द नबोलेको उनले बताए।
उनले दिउँसो करिब साढे दुई बजेतिर प्रहरीको नम्बरबाट फोन आएपछि आफू हतारिँदै अस्पताल आइपुगेको बताए। उनले भने,‘ दिउँसो साढे दुई बजे पुलिसको नम्बरबाट मलाई फोन भयो। ‘तपाईंको मान्छे पेट्रोल छर्केर यहाँ हुनुभएको रहेछ, वीरमा आउनुस् न’ भन्नुभयो। म तीन बजे यहाँ अस्पतालमा आइपुगेको थिएँ।’
बाइकको किस्ता तिर्ने समय नजिकिएकाले घटना भएकै दिन बिहान मदनले नै उनलाई चाँडै उठाएर काममा जान भनेका थिए। ‘गणेश उज्यालो भयो। पर्सि–निकर्सि त बाइकको किस्ता बुझाउने दिन आइसक्यो। पठाओ गर्न जाऊ तिमी’, उनले भने उसले छिमेकीलाई डिस्टर्ब हुन्छ भनेर स्टार्ट नगरिकन बाहिरपट्टी रोडमा लगेर स्टार्ट गरेको थियो।’
प्रकाशित: २६ असार २०८३ १३:२१ शुक्रबार





