नेपालका धेरैजसो पालिकामा नागरिकले प्रशासनिक कामका लागि कार्यालय धाउनुपर्छ । कतिपयले सामाजिक सुरक्षाभत्ता तथा जन्मदर्ता लगायतका सेवा लिन दिनभर हिँड्नुपर्ने बाध्यता छ । सेवा पुर्याउन सामान्यतया पालिकाहरु आफ्नै क्षेत्रभित्र सीमित रहन्छन्। तर, बाग्लुङको गल्कोट नगरपालिकाले भने आफ्ना नागरिक बसोबास गर्ने जिल्ला बाहिर पुगेर पनि सेवा प्रवाह गरेको छ ।
काठमाडौं, चितवन, नवलपरासी (सुस्ता पूर्व) जिल्लामा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने काम नगरपालिकाले गरिरहेको हो । नगरपालिका बाहिर सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या धेरै रहेकाले जिल्ला बाहिर पुगेर शिविर सञ्चालन गरिएको उपप्रमुख फमलाल निउरेले बताए ।
‘यहाँबाट सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको बसोबास बाहिरी जिल्लामा बढी छ । उहाँहरुको माग बमोजिम जिल्ला बाहिर गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिने गरेका छौँ, उनले भने, ‘शारीरिक रुपमा असक्त्त मानिसलाई राम्रो पनि भइरहेको छ।’ नगरपालिकाले चितवन र नवलपुरमा भदौ ४ र ५ र काठमाडौंमा भदौ ७ गते शिविर सञ्चालन गरेको थियो ।
यी स्थानबाट १९२ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख लोकेन्द्र गैरेले जानकारी दिए । पोखरामा भदौ १२ गते (बिहीबार) शिविर सञ्चालन हुँदैछ ।
गल्कोट नगरपालिकाका नागरिक चितवन, नवलपुर, काठमाडौं, पोखरा, रुपन्देही लगायतका जिल्लामा बढी छन् । अधिकांश बसोबास नगरपालिका बाहिर रहेपनि बसाइँसराइ नलैजाने गरेको नगरपालिकाका सूचना अधिकारी शिव खड्काले जानकारी दिए ।
‘बसोबार बाहिर छ । तथ्यांकमा गल्कोटमा नै रहेको देखिन्छ’, उनले भने ‘पछिल्लो यहाँबाट बसाइँसराइ लगेको देखिदैन ।’ उनका अनुसार एक वर्षको अवधिमा गल्कोटबाट १७ घरपरिवारले मात्र बसाइँसराइ गरेका छन् ।
यद्यपी गल्कोटमा बसाइँसराइ दर घट्दो अवस्थामा रहेको उनले बताए । ‘पहिले आर्थिक हैसियत भएका एक लट गए । पछि विदेश गएर पैसा कमाउने मानिस बसाइँ सरे । अहिले जग्गा बिक्री हुँदैन,’ उनले भने ‘पछिल्ला वर्ष भाडामा बस्ने मानिसहरु शहर पसेको पाइन्छ ।’ गल्कोटको दुधिलाभाटी, मल्म, नरेठाटी, हरिचौर लगायतका क्षेत्रबाट बढी मानिसहरु बसाइँसराइ गरेको पाइन्छ । गत वर्ष गल्कोटको वडा नम्बर १० बाट ५, वडा नम्बर ११ बाट ४, वडा नम्बर ३, ५ र ८ बाट २/२ र वडा नम्बर १ र २ बाट १/१ घरपरिवारले बसाइँसराई लिएका छन् । ११ वडा रहेको नगरपालिकाको वडा नम्बर ४, ६, ७ र ९ नम्बरबाट कसैले पनि बसाइँसराइ गराएका छैनन् ।
नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२मा ९५५ जना जन्मिएका छन् । सोही अवधिमा ८८ जनाको मृत्यु हुँदा २९० जनाले विवाह गरेका छन् । सम्बन्ध विच्छेद गर्नेको संख्या १७ छ । यहाँ विकास पूर्वाधारका कामहरु धमाधम भएपनि बसाइँसराइ भने नरोकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभर नयाँ र पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक छन् ।
प्रकाशित: ११ भाद्र २०८२ २०:३८ बुधबार





