१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पोखराका टोलटोलमा गाईजात्रा र तायामचा: नृत्य

पोखरामा पनि आज गाईजात्रा निकालिएको छ।  नेवारी समुदायका एक वर्षभित्र आफन्त बितेका परिवारबाट निकालिने गाईजात्रा यस वर्ष पोखरामा पनि निकालिएको हो।  

पोखराका गाउँ गाउँबाट गाईजात्रा निकालिएको नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए।  तर यति नै संख्यामा गाईजात्रा निकालिएको भनेर भन्न नसकिने उनको भनाई छ।  हरेक गाउँ/टोलमा एक वा त्यो भन्दा बढी मान्छे बितेका घर भएकाले उनीहरूले गाईजात्रा निकालेको उनले बताए। 

गाईजात्राको अवसरमा आइतबार कास्कीमा ३८ स्थानबाट तायामचा: निकालिएको छ।  नेवा खल: कास्कीको आह्वानमा ३८ शाखा (कचा:)खल:हरुले तायमचा निकालेका हुन्।  आइतबार पुरानो पोखरामा २८ स्थान, लेखनाथमा ८ स्थान, रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको घाचोकमा १/१ स्थान गरेर कुल ३६ स्थानबाट ताया:मचा निस्किएको नेवा: खल कास्कीका अध्यक्ष पालिखेले जानकारी दिए।  

उनका अनुसार पोखरामा आइतबार हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्रवैंकचोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचा: निकालिए।  त्यस्तै, महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि ताया:मचा निस्केको उनले बताए।  त्यस्तै लेखनाथबाट सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर, देउरालीलगायतका स्थानबाट तायमचा: निकालिएको जनाइएको छ। 

ताया:मचा ३८ ठाउँबाट भएपनि गाईजात्रा भने धेरै ठाउँबाट निस्किएका छन्।  एउटा टोलबाट धेरै गाई निस्किएपनि ताया:मचा एउटै हुने भएकाले गाईको संख्या धेरै भएको अध्यक्ष पालिखेको भनाई छ।  उनले भने,‘एउटा टोलबाट एउटा ताया:मचा निकालिन्छ।  तर एउटा टोलमा एक वा सो भन्दा बढी मान्छेको मृत्यु भएको भए गाईपनि धेरै नै निस्किन्छ।  त्यस हिसाबले यतिनै संख्यामा गाई निस्कियो भनेर यकिन भन्न नसकेपनि धेरै संख्यामा गाई निस्किएको अनुमान गर्न सकिन्छ। ’

यसैबिच, गाईजात्राको अवसरमा नेवा खल: कास्कीको आह्वानमा तायमचा:नृत्य प्रतियोगिता यही साउन ३१ गते शनिबार आयोजना हुँदैछ।  सिसुवा नेवा: खलको आयोजनामा पोखरा–३१ सिसुवा बजारमा प्रतियोगिता हुन लागेको हो।  हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको श्रृंखलामा ३५ टिम सहभागी हुने सिसुवा नेवा: खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले जानकारी दिए। 

यस वर्षको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने सिशुवा प्रतियोगिताका सहसंयोजक भैरवलाल श्रेष्ठले जानकारी दिए।  प्रथम पुरस्कारको राशि अघिल्लो वर्षभन्दा झण्डै दुई लाखले कमी हो। 

यस वर्ष महिलातर्फको उपाधि विजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने जनाइएको छ। 

प्रकाशित: २५ श्रावण २०८२ २०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App