नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरस्वती पूजा तथा वसन्तपञ्चमीको पावन अवसरमा शुभकामना दिएका छन्। उनले सम्पूर्ण नेपालीलाई अध्ययन र विवेकको शक्ति सबै नेपालीमा विस्तार होस् भन्ने कामना व्यक्त गरेका छन्।
सभापति थापाले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै ‘सरस्वति नमस्तुभ्यं वरदे कामरूपिणि, विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा’ श्लोक समेत लेखेका छन्।
सरस्वती पूजा तथा वसन्तपञ्चमीलाई ज्ञान, कला र शिक्षाको आराधनाको पर्वका रूपमा मनाइन्छ।
उनले लेखेका छन्
‘सरस्वति नमस्तुभ्यं वरदे कामरूपिणि।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा॥
सरस्वती पूजा एवं वसन्तपञ्चमीको पावन अवसरमा अध्ययन र विवेकको शक्ति सबै नेपालीमा विस्तार होस् - हार्दिक शुभकामना!’
धन्यवाद!
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।
प्रकाशित: ९ माघ २०८२ ११:१० शुक्रबार





