भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसलगत्तै भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि उत्पन्न इन्धन संकटलाई नेपाल आयल निगमले वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिरहेको छ।
विपद्पछिका १० दिनमा निगमले उद्धारका लागि हवाई इन्धनदेखि उपत्यकामा ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति मिलाउन चालेका कदमहरूको विवरण शनिबार सार्वजनिक गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्यायो। बाढीलगत्तै प्रभावित क्षेत्रमा नेपाली सेनाका हेलिकोप्टरमार्फत खोज तथा उद्धार कार्य सुरु गरियो।
हेलिकोप्टरलाई इन्धन अभाव हुन नदिन निगमले सोही दिनदेखि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट ‘रिफ्युलिङ’ सेवाको प्रबन्ध मिलायो। त्यसयता हालसम्म उक्त ब्यारेकबाट १ लाख २० हजार लिटर हवाई इन्धन उद्धार कार्यका लागि पठाइसकिएको छ र यो क्रम निरन्तर जारी छ।
बाढीको विपद् व्यवस्थापन चलिरहेकै बेला भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड कटान गरी सडक भासियो। यसबाट काठमाडौं उपत्यका भित्रिने मुख्य मार्ग पूर्ण रूपमा अवरुद्ध भई पेट्रोलियम ट्याङ्कर तथा ग्यास बुलेटहरू बाटोमै रोकिन पुगे।
मुख्य राजमार्ग ठप्प भएपछि निगमले तत्कालै पुरानो ‘बाइरोड’ अर्थात् त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने निर्णय गर्यो। ग्यास बुलेटहरू त्रिभुवन राजपथबाट ल्याउन जोखिमपूर्ण हुने भएकाले निगमले तत्काल रणनीति बदल्यो। जसअनुसार तराईस्थित ग्यास उद्योगहरूमा नै सिलिन्डर भर्ने र भरिएका सिलिन्डर ट्रकमा लोड गरी त्रिभुवन राजपथ हुँदै उपत्यका भित्र्याउने व्यवस्था मिलाइयो।
वैकल्पिक मार्ग प्रभावकारी भएसँगै भदौ १८ गते विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय वटा ग्यास सिलिन्डर उपत्यका भित्र्याइयो। भोलिपल्ट अर्थात् भदौ १९ गते ढुवानी बढाएर करिब ३४ हजार १३४ सिलिन्डर काठमाडौं ल्याइयो। यसरी दुई दिनमै करिब ५८ हजार ६३४ सिलिन्डर ग्यास उपत्यका भित्रिएका छन्।
यसै अवधिमा बाढीबाट विस्थापित भई विभिन्न सेल्टरमा बसिरहेका नागरिकहरूका लागि खाना पकाउने ग्यासको प्रबन्ध गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघबाट उपलब्ध गराइने १ हजार २५० सिलिन्डरमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा हालसम्म रसुवा र नुवाकोटका राहत शिविरहरूमा ५७५ थान सिलिन्डर पठाइसकिएको छ।
निगमले सूचना जारी गर्दै आपूर्ति व्यवस्थालाई अझ चुस्त बनाउन ग्यास उद्योगहरूलाई सार्वजनिक बिदाका दिनमा समेत सिलिन्डर रिफिलिङ गर्न र ढुवानीका साधनहरू अधिकतम परिचालन गरी त्रिभुवन राजपथ हुँदै उपत्यकामा नियमित ग्यास ल्याउन निर्देशन दिएको छ।
प्रकाशित: २० भाद्र २०८३ १९:२६ शनिबार





