विश्वप्रसिद्ध एआई प्रणालीहरू ‘च्याट जिपिटि’, ‘जेमिनी’ र ‘क्लाउड’ लाई परिष्कृत बनाउन २९ वर्षीय नेपाली गणितविद् आदित्य पौडेलले एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीलाई नेतृत्व गरिरहेका छन्।
उनले संयुक्त राज्य अमेरिकामा बसेर अत्याधुनिक एआई मोडेलहरूको गणितीय क्षमता अभिवृद्धि, डाटा सत्यापन र गुणस्तर व्यवस्थापनको अग्रणी भूमिका सम्हालिरहेका हुन्।
विशाल भाषा मोडेल (एलएलएम) लाई थप सही, विश्वसनीय र गणितीय रूपमा सवल बनाउन आवश्यक उच्चस्तरीय मानवीय संशाधनद्वारा परिष्कृत डाटा निर्माणमा उनको भूमिका प्रमुख रहँदै आएको छ। सन् २०२२ मा ‘च्याट जिपिटि’ सार्वजनिक भएपछि विश्वव्यापी रूपमा एआईले शिक्षा, स्वास्थ्य, अनुसन्धान, उद्योग र सञ्चार क्षेत्रलाई तीव्र गतिमा रूपान्तरण गरिरहेको छ।
प्रारम्भिक ‘जिपिटि-३.५’ मोडेलदेखि हालको ‘जिपिटि-५.५’ सम्म आइपुग्दा एआईको गणितीय तर्कशक्ति र जटिल समस्या समाधान गर्ने क्षमता उल्लेखनीय रूपमा परिष्कृत भएको छ।
आदित्यका अनुसार यस विकासको पछाडि शक्तिशाली कम्प्युटर प्रणाली मात्र नभई विषयविज्ञहरूले तयार पारेको उच्च गुणस्तरको डाटा र त्यसको सूक्ष्म मानवीय परीक्षणको मुख्य योगदान रहेको छ। यस कार्यमा उनी सन् २०२४ देखि निरन्तर सक्रिय छन्।
१८ वर्षको कलिलो उमेरमा नेपालबाट अमेरिका पुगेका आदित्यकी आमा डा. जानुका नेपालका अनुसार उनले अमेरिकाको युनिभर्सिटी अफ साउदर्न मिसिसिपीबाट भौतिकशास्त्र र गणितमा स्नातक तथा युनिभर्सिटी अफ न्युअर्लिन्सबाट गणितमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। अध्ययनकै क्रममा उनी विभिन्न उच्चस्तरीय अनुसन्धानमूलक कार्यमा संलग्न रहँदै आएका छन्।
‘हाल आदित्यले एक हजारभन्दा बढी गणित विशेषज्ञहरूको टोलीलाई प्रशिक्षण र मार्गदर्शन दिन्छन्,’ आमा डा. नेपालले नागरिक न्युजसँग भनिन्, ‘साथै गुणस्तर व्यवस्थापनसम्बन्धी सामग्री तयार गर्दै विश्वस्तरीय एआई प्रशिक्षण कार्यक्रमको अग्रपङ्क्तिमा रहेर काम गरिरहेको देख्दा एक आमाका रूपमा मलाई गर्व लाग्छ। उनको विशेषज्ञता अन्तर्राष्ट्रिय एआई संस्थाहरूमाझ परिचित हुँदै जानुले विश्वभर नेपालको शिर उच्च बनाएको छ।’
एआई मोडेलहरूको क्षमता सुधार गर्न विषयविज्ञहरूले तयार पारेको सही, स्पष्ट र प्रमाणित डाटा अपरिहार्य हुन्छ। आदित्यका अनुसार एआईले आफैँ डाटा तयार गर्न सक्ने भए तापनि मानवीय सत्यापन बिना त्यसको उच्च गुणस्तर सुनिश्चित हुन सक्दैन, किनकि एआईले कहिलेकाहीँ त्रुटिसहित भ्रमपूर्ण उत्तर उत्पादन गर्न सक्छ। यस्ता प्राविधिक त्रुटिहरू पहिल्याएर प्रमाणित गर्ने कार्यमा गणित र विज्ञान विषयका विशेषज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनी यस कार्यको नेतृत्व गरिरहेका छन्।
आफ्नो कार्यअनुभव बाँड्दै आदित्यले भने, ‘कुनै पनि व्यक्तिले आफ्नो ज्ञान र एआईको सही प्रयोगमार्फत कुनै पनि विषयमा गहिरो ज्ञान हासिल गरी विश्वस्तरीय दक्षता विकास गर्न सक्छ। आजको डिजिटल युगमा नेपालले पनि विश्वका प्रतिष्ठित संस्थाहरूबारे बुझेर तिनसँग सहकार्य गर्न, नेपाली युवालाई प्रशिक्षित गर्न र रोजगारीका नयाँ मार्गहरू पहिल्याउन सक्छ।’
सानै उमेरदेखि प्रविधिप्रति रुचि राख्ने आदित्यले आफ्नो प्राज्ञिक अध्ययन पूरा गरेपछि मायामी युनिभर्सिटीमा आंशिक प्राध्यापकका रूपमा गणित अध्यापन गराउने अवसर प्राप्त गरे। विद्यार्थीहरू माझ उनी अत्यन्त सरल, सहज र रुचिपूर्ण ढंगले गणित बुझाउने प्रिय प्राध्यापकका रूपमा स्थापित छन्।
अध्यापनका साथसाथै शिक्षामा एआईको समान पहुँच विस्तार गर्नु आफ्नो मुख्य उद्देश्य रहेको आदित्य बताउँछन्। अत्याधुनिक एआईका सम्पूर्ण सुविधाहरू निःशुल्क उपलब्ध नहुने र नेपालजस्ता विकासशील देशका विद्यार्थीहरूले महँगो सदस्यता शुल्क तिर्न नसक्ने यथार्थलाई मनन गर्दै उनले आफ्ना विद्यार्थीहरूका लागि निःशुल्क प्रयोग गर्न सकिने ‘ओपन सोर्स’ एआई मोडेललाई थप परिष्कृत गरी विकास गरेका छन्।
यस शैक्षिक अभियानका क्रममा एआई प्रशिक्षक पौडेलको सन् २०२४ मा ‘भायुलट अफ इकोज’ नामक पुस्तकको पहिलो संस्करण प्रकाशन भइसकेको छ। उनले विकास गरेको प्रारम्भिक एआई मोडेल ‘एथेना भि ४’ परिष्कृत हुँदै हाल ‘एथेना भि ५’ को रूपमा सञ्चालनमा छ। यो मोडेलको प्रयोगपछि कक्षाकोठामा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार आएको उनी बताउँछन्।
यस सफलताबाट उत्साहित भएर उनले अमेरिकामा ‘निओम ल्याब्स’ नामक गैरनाफामूलक संस्था स्थापना गरेका छन्। यसको उद्देश्य विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय एआई सेवामा निःशुल्क पहुँच उपलब्ध गराउनु हो।
हाल ‘एथेना भि ५’ विश्वका ४९ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ। क्लाउडफ्लेयरको पछिल्लो ३० दिनको वेब ट्राफिक तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, अस्ट्रेलिया र जापान यस मोडेलको प्रयोग गर्ने शीर्ष पाँच देशहरू हुन्।
विशेष गरी गणितजस्ता जटिल विषयहरूमा एआईले कहिलेकाहीँ पूर्ण आत्मविश्वासका साथ गलत उत्तर दिन सक्ने भएकाले यस्ता प्राविधिक त्रुटिहरूको पहिचान र समाधानका लागि उच्च स्तरीय विषयविज्ञहरूको टोली आवश्यक पर्दछ।
आदित्यको काम केवल प्राविधिक योगदानमा मात्र सीमित नरही गणितका जटिल प्रश्नहरू निर्माण गर्ने, सही उत्तरका लागि एआईलाई तालिम दिने र शिक्षामा प्रविधिको समान पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रमा पैरवी गर्नु हो।
अमेरिकामा विद्यावारिधि (पीएचडी) सम्मको उच्च अध्ययन पूरा गर्ने लक्ष्य राखेका आदित्यको नेपालप्रतिको दृष्टिकोण उत्तिकै स्पष्ट छ। उनका अनुसार नेपाली विद्यार्थीहरूमा प्रतिभा र क्षमताको कुनै कमी छैन, तर गुणस्तरीय स्रोत र अवसरको अभावले उनीहरूको सम्भावना समयमै उजागर हुन सकेको छैन।
नेपालका विद्यालय तहदेखि नै एआई साक्षरता विस्तार गर्न सके भविष्यका उत्कृष्ट अनुसन्धानकर्ता र नवप्रवर्तकहरू स्वदेशमै तयार गर्न सकिने उनको दृढ विश्वास छ। सोही योजनाअनुरूप उनी ‘निओम ल्याब्स’ मार्फत नेपाली विद्यालयहरूमा निःशुल्क एआई प्रणाली र शैक्षिक कार्यक्रम विस्तार गर्ने योजनामा जुटेका छन्।
प्रकाशित: ३१ असार २०८३ १५:२३ बुधबार




