हरितालिका तीजलाई राउटे समुदायका महिलाहरुले कसरी मनाउँछन् भन्ने जिज्ञासा मेट्न मंगलबार राउटे समुदाय बस्दै आएको सुर्खेतको लेकवेशी नगरपालिका–१० मा पुगेँ । केही केटाकेटी र महिलाहरु नजिकैको बडीपाटी बजारमा देखिए । उनीहरु अन्य समुदाय (आफ्नो समुदाय बाहेककालाई राउटेहरु अन्य भन्छन्) को नाचगान हेरिरहेका थिए ।
बडीपाटीबाट चिंगाड जाने सडक नजिकै उनीहरु दुई दिनअघि मात्रै बस्ती सरेका थिए । समुदायका जेष्ठ नागरिक ७५ वर्षीय नन्दराम शाहीको मृत्यु भएपछि त्यहाँ सरेका राउटे सबैले घर बनाइसकेका थिएनन् । कोही घर बनाउँदै थिए । कोही थाकल काटेर खाइरहेका थिए । बस्तीमा पुगेपछि राउटे समुदायसँग काम गरिरहेको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले गाजलु दुई दिनदेखि विरामले थलिएको जानकारी गराए ।

लालबहादुरसँगै म पनि गाजलुको ‘घर’ पुगेँ । एक कुनामा उनी चिसो भूइँमा पल्टिएकी थिइन् । अरु दुई–चार महिलाहरु पनि त्यहीँ थिए । इसाराले तल्लो पेट दुखिरहेको बताइन् । लगत्तै कर्णाली प्रदेश अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाहीलाई उनकै अघाडि फोन गरेँ । त्यो दिन बस्तीबाट वीरेन्द्रनगर उपचार गराएर फर्काउन सम्भव थिएन् । डा. शाहीले बुधबार विहानै ल्याउन सुझाव दिए ।
बुधबार विहानै २८ वर्षकी गाजलुलाई ल्याएर हामी उनको क्लिनिकमा पुग्यौं । उनले फेरि पनि हातकै इसाराले दुखिरहेको ठाउँ देखाइन् । राउटेसँग काम गरिरहेकी स्वास्थ्यकर्मी अनुजा पन्त पनि सँगै थिइन् । डाक्टरले भिडियो एक्सरे गरे । थप अनुसन्धानका लागि रगत निकाल्नुपर्ने भयो । गम्भीर बिरामी भएर अर्धचेत भएकाबाहेक आजसम्म सहजै रगत दिएर औषधि उपचार राउटेले गरेका थिएनन् । अनुजा र मैले रोग पत्तालगाउन रगत निकाल्न दिनुपर्छ भनेर सम्झाइरहेका थियौं ।

अन्नतः डाक्टरले पनि सम्झाएपछि उनी रगत दिन तयार भइन् । सुरुमा सुई खोप्दा डराउलिन भनेर उनलाई हाततिर नहेर्न भन्यौं । उनले हेरेरै रगत निकाल्न दिने बताइन् । हामीले सोचेभन्दा सहज तरिकाले उनले रगत संकलन गर्न दिइन् । ‘एक्कै चोटी दुख्यो,’ रगत निकाल्दाको अनुभव सुनाउँदै उनले भनिन्, ‘ठूलै घाउ हुन्छ कि भन्ने सोचेकी थिएँ, केही पनि नहुँदो रहेछ ।’ रगत संकलन गरिसकेपछि हामीले रक्त समूह पनि खुलाइदिन आग्रह गर्यौं । अनि बाटुलीको रक्त समूह थाहा भयो, बी प्लस ।
सम्पूर्ण रिपोर्ट आएपछि थाहा भयो, बाटुलीको पिसाबमा संक्रमण भएको रहेछ । डाक्टरले लेखिदिएको औषधि बोकेर हामी राउटे बस्ती लाग्यौं । पहिलोपटक राउटे समुदायका एक सदस्यको रक्त समूह पत्ता लगाउँदा र उपचार गरेर उनीहरुकै बस्ती फर्कदाँ मनमा भने छुट्टै किसिमको सन्तुष्टी थियो ।
प्रकाशित: ११ भाद्र २०८२ १७:२२ बुधबार





