प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र शव व्यवस्थापन तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्दै उनले बाढीका कारण अवरुद्ध सडक तत्काल खुलाउन, आवश्यक ठाउँमा तुइन राख्न तथा रसुवा र नुवाकोटमा छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट परिचालन गर्न सुझाव दिएका हुन्।
गत बुधबार भोटेकोशीमा आएको बाढीको आज चौथो दिन हो। बाढीबाट ठुलो जनधनको क्षति भएको छ। अहिलेसम्म ६२६ जनाको शव फेला परेको छ भने दुई हजार ४२६ जना बेपत्ता छन्। बेपत्ता हुनेमा ५१७ जना विदेशी नागरिकसमेत रहेका छन्।
सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको हुन सक्ने भन्दै आङ्देम्बेले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धार टोली र विशेषज्ञ ल्याउन माग गरेका छन्। शव व्यवस्थापनमा ढिलाइ हुँदा स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै उनले तत्काल व्यवस्थापन गर्न पनि आग्रह गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री शाहले शव सुरक्षित राख्ने र आवश्यक परे डिएनए परीक्षणका लागि नमुना संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
प्रकाशित: १३ भाद्र २०८३ १३:१८ शनिबार





