रसुवामा आएको बाढीपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा परी ५१ जनाको मृत्यु भएको, ४०५ जना बेपत्ता रहेको र ४० जना घाइते भएको जनाएको छ।
बाढीबाट जिल्लाका विभिन्न स्थानीय तहका बस्ती प्रभावित भएका छन्। प्रशासनका अनुसार विदुर नगरपालिकाका वडा नं १, २, ४, ६, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ६, ७ र ८, तारकेश्वर गाउँपालिकाका वडा नं २ र ४ तथा किस्पाङ गाउँपालिकाको वडा नं ५ अन्तर्गत शान्तिबजार क्षेत्र प्रभावित भएका छन्।
बाढीले भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। पाँच वटा सरकारी कार्यालयका भवन, तीन वटा जलविद्युत् गृह र चार वटा विद्यालयमा आंशिक क्षति पुगेको प्रशासनले जनाएको छ। त्यस्तै, बाढीका कारण करिब ७०० देखि ८०० वटा निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
सडक तथा पुलमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। जिल्लामा १५ वटा पक्की पुल र नौ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रशासनले जनाएको छ।
बाढीले केन्द्रीय कारागार नुवाकोटको खम्बा तथा कम्पाउण्ड पर्खालसमेत बगाएको छ। कारागारको कार्यालय भवनको भुइँतला पनि बाढीको पानीले डुबाएको जनाइएको छ। यद्यपि, कारागारमा रहेका कैदीबन्दीहरू भने सुरक्षित रहेको प्रशासनले जनाएको छ।
साथै बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ। जिल्ला प्रशासनका अनुसार हेलिकप्टरमार्फत १ हजार ८२३ जना र स्थलमार्गबाट ५८ जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म १ हजार ८८१ जनाको उद्धार भएको छ।

प्रकाशित: १३ भाद्र २०८३ १२:४३ शनिबार





